अमर न्यौपाने
५ साल भदौ २३ गतेको बिहान । पहिलोपटक नेपालगन्जको माटोमा पाइला राख्दै थिएँ । त्यो भूमिमा पाइला टेक्नासाथ अनायस हलुंगा भए पाइलाहरू । यस्तो लाग्यो, म एकैदिनमा नेपालगन्जलाई घुमेर सकूँ ।
उनी अलमलिए । मैले बुझाउने प्रयास गरेँ, ‘जस्तो काठमाडौंको मुटु रत्नपार्क हो । नेपालको मुटु सिंहदरबार हो ।’
चोकमा बसेर म हेरिरहेथेँ– रिक्सावाल, टाँगावाल, ठेलावाललाई, कतैबाट घाँस बोकेर फर्किरहेका घँसियारालाई, चरा मार्न छोडिसकेका चिडीमारहरूलाई, पत्थरको काम छाडेर मजुदुरी गर्दै गरेका पत्थरकट्टाहरूलाई, सोनार, चमार, कहार, महरा, नाउ, काछी, कुर्मी, गोडियालाई, पूर्व बदिनीहरू र वर्तमान नगरवधूहरूलाई, बुर्काविहीन र बुर्कामा आफ्नो सौन्दर्य छोपेकाहरूलाई ।
हो यही फोहोर नेपालगन्जमा अलिखित थुप्रै कथा फलेको देखेँ । यिनै कथाका फलहरू टिप्ने सिलसिलामा आख्यानकार सनत दाइलाई सोधेँ, ‘त्रिभुवन चोक नजन्मिँदै जन्मनेहरू कोको छन् दाइ यहाँ ?’
दसैँ–तिहारका वेला राणाहरू हात्तीमा सान र रवाफका साथ चोकचोकमा आउँथे । जुवाको खालअगाडि पुगेपछि माउतेले आदेशमुताबिक हात्ती रोक्थ्यो ।
तल्लो जातिका मानिसहरू दबाइए । बाहुन–क्षेत्रीले अवसर पाए । बाहुनलाई राणाहरू पन्ध्र–बीस बिघा जमिन दान दिन्थे । २००७ सालको क्रान्तिताका धेरैका जग्गा कब्जा भए । खुब लुटपाट भयो । कतिपय धनीहरू गरिब भए । कतिपय गरिबहरू धनी भए । उलटपुलट भयो ।
त्यहाँ अहिलेसम्म पनि कसैको सालिक छैन । नेताहरू कसको सालिक राख्ने र चोकको नाम के राख्ने भन्ने विवादमा अल्झिरहेछन् । चोक नयाँ सालिक कुरिरहेछ, देश नयाँ संविधान कुरिहेछ । कुन पहिला आउने हो जनता कुरिरहेछन् ।
यही चोकले पहिलोपटक लेखेको कथालाई मैले हृदयमा लेखेँ । त्यसपछि कागजमा लेखेँ । शीर्षक दिएँ– सालिक । जुन कथा मेरो पहिलो आख्यान ‘पानीको घाम’ मा समावेश गरेको छु ।
म जिटिजेटको टाउन राइटर रेजिडेन्ड कार्यक्रमअन्तर्गत नेपालगन्ज दुई महिनाका लागि स्थलगत अध्ययन गरी आख्यान लेख्न त्यहाँ गएको थिएँ ।
मलाई नेपालगन्जको अनुहार हेर्नु थियो । अनुहारमा पनि सबैभन्दा पहिले आँखा हेर्नु थियो । त्यसपछि नाक, मुख, कान, गाला, निधार र कपाल हेर्नु थियो । त्यसपछि टाउकोभित्रको मस्तिष्क हेर्नु थियो । नेपालगन्ज के सोचेर बस्छ होला ? जान्नु थियो ।
त्यसपछि पूरै अनुहारलाई एकसाथ हेर्नु थियो । पूरै शरीरलाई पनि एकसाथ हेर्नु थियो । शरीरमा सबैभन्दा पहिले मुटु हेर्नु थियो । त्यसपछि कलेजो, फोक्सो, मिर्गौला, भुँडी सबथोक हेर्नु थियो । नेपालगन्जले के खान्छ र कसरी पचाउँछ या कसरी पचाउँदैन जान्नु थियो ।
यतिका थोक जान्न सक्ने क्षमता मसँग छैन भन्ने थाहा हुँदाहुँदै पनि इच्छा जागेको थियो । दुई महिना बस्ता जति आफ्नो क्षमताको घैँटोमा जति सकिन्छ त्यति पानी भरौँला भन्ने सोचेँ ।
पहिलोपटक नेपालगन्जलाई देख्ता लाग्यो, नेपालगन्जलाई सबैभन्दा अल्छी लाग्ने काम भनेको नुहाउन हो । ऊ आफैँ नुहाउँदैन आकाशको पानी पर्दा मात्र नुहाउँछ ।
नेपालगन्जले राति पानी पर्दा नुहाएको रहेछ । दिउँसो घाममा आफूलाई सुकाउँदै थियो । रातभरि पानी परेकाले आकाश सफा थियो । बादल पनि कपासजस्तो सुकिलो थियो । तर, नेपालगन्ज सफा थिएन । किनभने उसले आफ्नो शरीरको मैलो निखारेकै थिएन । यस्तो लाग्थ्यो, पानीले उसको टाउको र शरीरको मैलो झन् ढाडिएको छ । नेपालगन्जलाई साबुन, स्याम्पु, खरानी पानी केही मन पर्दैन ।
कहिलेकाहीँ प्रकृतिले नुहाइदिँदा पनि आफ्नो शरीर पखालेको मैलो पानी आफ्नै शरीरका खोल्साखाल्सीमा जमाएर, कुहाएर, भ्यागुता र सर्प पालेर बाँच्छ यो सहर । फोहोरकै कारण कहिले सुकेलुतो कहिले पाकेलुतो कहिल्यै छुट्तैन यो सहरलाई । र पनि यो ठाउँले निरन्तर कहिल्यै नटुंगिने कथा बाँचिरहेछ । असंख्य मानिसको कथा बोकेर समय हिँडिरहेछ ।
सुर्खेत रोडमा पर्ने बिपी चोकको एउटा पसलमा चिया खाँदै थिएँ । कुरैकुरामा एकजना भलाद्मीजस्ता देखिने मानिसलाई सोधेँ, ‘नेपालगन्जको मुटु कहाँनेर पर्छ ?’
त्यसपछि मुसुक्क हाँसेर उनले भने, ‘त्रिभुवन चोक ।’उनले त्रिभुवन चोक जाने बाटो देखाइदिएँ । म त्यतै हानिएँ । जब चोकमा पुगेँ, चोकमा त्रिभुवन थिएनन् । उनलाई ०६२/०६३ सालको जनआन्दोलनले कहिल्यै नफर्कने गरी खेदिसकेको थियो । चोकवरिपरिका साइनबोर्डमा भने उनी उस्तै थिए । चोकको स्तम्भमा भद्दा अक्षरले ‘कमल मधेसी चोक’ भनेर लेखिएको थियो । तर, मानिसहरूको मुख र मनमा साइनबोर्डमा झैँ त्रिभुवनचोक नै लेखिएको रहेछ ।
प्रत्येक व्यवस्थाले नेपालगन्जको मुटुलाई फरक–फरक सालिक दिएको रहेछ । तर, अहिले चोक सालिकविहीन थियो, जसरी देश संविधानविहीन थियो । भर्खर संविधानसभाको पहिलो चुनाव भएकाले मानिसहरू नयाँ संविधानको आशामा थिए र चोकमा नयाँ सालिकको पनि ।
(तर, आजसम्म देशले न नयाँ संविधान पायो, न यो चोकले नयाँ सालिक पायो । देशमा दोस्रो संविधानसभाको चुनाव हुँदा पनि नयाँ संविधान आउने छाँटकाँट छैन । यो चोकले पनि नयाँ सालिक पाउने छाँटकाँट छैन । त्यसैले यो देशको प्रतीकजस्तो लाग्छ ।)
चोकलाई चारैतिरबाट हेरेँ । चोकलाई भन्दा धेरै चोकवरिपरि सडकमा हिँडिरहेकाहरूलाई हेरेँ । गुडिरहेकालाई हेर्न अलि मुस्किल पर्दै थियो ।
यी सबैलाई लेख्न कहिले सकिएला ? लाग्यो, भित्रसम्म पुगेर लेख्न सक्ने हो भने उनीहरूको कथाको आयु उनीहरूकै आयुभन्दा कैयौँ गुना लामो हुनेछ । उनीहरूलाई र उनीहरूले सडकमा बनाएका अमूर्त पाइलाहरूलाई धेरै बेरसम्म हेरिरहेँ ।
चोकमा पुरानो परम्परालाई बोकेर हिँड्नेहरू र आधुनिकलाई बोकेर हिँड्नेहरू सबै आ–आफ्नै किसिमले बाँचिरहेका थिए । लाग्यो, चोकतिर यसै हिँडेका कुकुरहरू, साँढे र गधाहरू सधैँ उसरी नै बाँचिरहेछन् । उनीहरूलाई आधुनिकता, व्यवस्था र प्रविधिसँग केही मतलब छैन । उनीहरू न चोकमा सालिक कुरिरहेछन्, न देशमा नयाँ संविधान कुरिरहेछन् । उनीहरू त एक पेट खान खोजिरहेछन् । यस्तो लाग्छ, उनीहरूसँग बाँच्ने जिजीविषा मान्छेमा भन्दा बढी छ ।
नेपालगन्ज सहरमा घाँस काटेर बेच्ने घँसियारा श्यामवती केवटले भनिन्— म सानी छँदा नेपालगन्ज कति हरियो थियो । अहिले त पत्थरले ढाक्न लागिसक्यो । नेपालगन्जको हरियो खोसियो भने हाम्रो पेसा खोसिन्छ । हरियोविनाको सहर कति नराम्रो बन्ला, उजाड होला ?
काठको काम गर्दागर्दै रोकिएर बुधइराम चिडीमार भन्छन्— म सानो छँदा नेपालगन्ज ठूलो लाग्थ्यो । मभन्दा चाँडै नेपालगन्ज हुर्कियो । लखनउबाट गएर फर्केपछि नेपालगन्ज सानो लाग्यो तर प्यारो । जुन दिन लल्ली मेरी मनकी स्वास्नी भई त्यस दिनदेखि यो ठाउँ सबैभन्दा प्यारो भयो । जब ६ महिनाको मेरो छोरो यही माटोमा मर्यो, सबैभन्दा प्यारी मेरी लल्ली यही माटोमा मरी, तब यहाँको माटो कुरुक्षेत्रजस्तो कठोर लाग्यो ।
चाट बनाएर बेच्ने प्रेमपता गोडियाले भनिन्– नेपालगन्ज मेरो आशा हो । अझै आशा मरेको छैन । त्यो आशा भनेको विरथ हो । पहिले नेपालगन्ज एकदमै फोहोर लाग्थ्यो । पोखरीझैँ कुर्दाकुर्दै हिजोआज नेपालगन्जभन्दा मै बढी फोहोरी भएँ कि जस्तो लाग्छ ।
उनले भने, ‘कृष्णगोपाल टण्डन त जुद्धचोक पनि नजन्मँदै जन्मेका हुन् । त्रिभुवन चोक नजन्मँदै सचितानन्द चौवे पनि जन्मेका थिए ।’देशकै ठूला उद्योगपति कृष्णगोपाल टण्डनलाई भेट्न गएँ । पहिलो दिन भेट मिलेन । दोस्रो दिन भेट मिल्यो । इतिहासको पुरानो विशाल पुस्तकजस्ता ९५ वर्षीय टण्डनलाई भेट्दा धेरै बेरसम्म त म हेरेकोहेर्यै भएँ । यिनको आँखाको दराजभित्र इतिहासका कति ठेली होलान् ? तिनलाई कसरी पढ्ने होला ?
चस्माको पावरले समेत नपुगेर हो कि उनले हेन्डलेन्सले मेरो परिचयपत्र ओल्टाई–पल्टाई पढे अनि मेरो अनुहार पढे । मैले सोधेँ, ‘तपैँले जान्दा नेपालगन्ज कस्तो थियो ?’
उनले चस्मा फुकाले । हेन्डलेन्सलाई टेबलको घर्रामा थन्काए र पुरानो समयलाई हेर्न मनमा चस्मा लगाए । बोल्न पनि उनलाई गाह्रो भएको थियो । केही समय उनको कुरा मैल ध्यानपूर्वक सुनेँ ।
मैले सचितानन्द चौवेलाई पनि भेटेँ । भेटेँ उनका केही समकालीनलाई पनि । ती पुराना कुरा सुन्दा लाग्यो, प्रत्येक मानिससँग आफ्नै जीवनले लेखेको इतिहास र आख्यानको ठेली छ । ती ठेलीबाट केही न केही कसैले अवश्य लेख्ला । मलाई भने जान्नु थियो नेपालगन्जको मुटु त्रिभुवनचोक र यसको कथा । उनीहरूको कथाको संक्षिप्त सार यस्तो थियो :
त्यो वेला नेपालगन्ज पूरै जंगलैजंगल थियो । राणाहरूसँग अंग्रेज खुसी नभएको भए अहिले यो ठाउँ भारतको हुने थियो । हाम्रा चोकमा भारतकै शासकको सालिक हुने थियो । हामी भारतीय नागरिक हुने थियौँ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर अंग्रेजहरूले खुसी भएर राणाहरूलाई दिए ।
जंगबहादुर कहिल्यै नेपालगन्ज आएनन् । उनले कप्तान केशरजंगलाई यहाँ बस्ती बसाउन पठाए । अहिलेको त्रिभुवन चोकवरिपरि ३६० कोठी बनाए र यहाँ बस्ती बसाए । ती कोठीमा व्यापार गर्न भारतबाट चौसलियालाई बोलाए । उनीहरूले यहाँका बासिन्दामाथि व्यापार सुरु गरे । बिस्तारै बस्ती विस्तार हुँदै गयो ।
त्यतिखेर यो चोकमा सालिक थिएन । पुलिस बिटजस्तो सानो कोठी थियो, जसलाई कतुवाली भनिन्थ्यो । नेपालगन्जमा पहिलोपटक आउने शासक जुद्धशमशेर हुन् । उनी वि.सं. १९९३ मा आए र यहाँ एक महिना क्याम्प बनाएर बसे । यहाँका घना जंगलमा सिकार खेले । तीनओटा त बाघ मारे । मृग, हरिण, जरायोको गणना नै भएन होला । उनका भारदारको सल्लाहअनुसार चोकमा जुद्धशमशेरको सालिक बनाउने निर्णय भयो । कतुवाली भएको ठाउँमा जुद्धशमशेरको अष्टधातुबाट अर्धकदको कालो सालिक स्थापना गरियो र त्यहाँ उनको प्राणप्रतिष्ठा पनि गरियो । हिन्दू धर्मअनुसार जिउँदाको सालिक बनाउनुहुन्न भन्ने मान्यता थियो । तर, सामन्तहरूले आफ्नो पूजा गराउन जिउँदाको पनि सालिक बनाउन लगाए ।
त्यो सालिकको सुरक्षामा एक–दुईजना प्रहरी त्यहाँ उभिइरहेका हुन्थे । सालिक नजिक पुगेपछि सबैले स्वस्ती गरेर जानुपथ्र्यो । कोही मान्छे घाम या पानीमा छाता ओढेर आएको भए पनि सालिक अगाडि पुगेपछि छाता बन्द गरेर स्वस्ती गरेर जानुपथ्र्यो । नियम कडा थियो ।
जुद्धशमशेरबाहेक कुनै तीन सरकार नेपालगन्ज आएनन् । हिलो, धुलो, औलो, सर्प, बिच्छी बस्ने गर्मी ठाउँ भनेर यो ठाउँलाई तीन सरकारले उपेक्षा गथ्र्यो । त्यसैले सी क्लासका राणाहरूलाई बिर्ता दिएर यहाँ पठाए । यहाँका बासिन्दाका राजा तिनै थिए । सालिक त आलंकारिक राजाजस्तै भए । त्यति वेला यस इलाकालाई आठ भाइ बिर्ता भनिन्थ्यो ।
छोटे राजाले दिनलाई रात हो भन्दा पनि दिनै हो भन्न सक्ने आँट जनतामा थिएन । जनता सरकारसँग पूर्ण बफादार थिए । उनीहरूका अगाडि सबै नतमस्तक थिए । उनीहरूको बोली कानुन थियो । त्यो कानुनमाथि बहस हुन्थेन । कानुनसँग सबै डराउँथे । खासमा कानुनसँग भन्दा पनि राजाको बोलीसँग डराउँथे । उनीहरूको शोषणभन्दा पनि प्रभाव धेरै थियो यहाँ । उनीहरूको यति ठूलो प्रभाव थियो कि न कुनै तल्लो वर्गको मानिस बोल्न सक्थे न मुसलमान नै बोल्न सक्थे ।
हात्तीमाथिबाटै जुवा थाप्थे । उनीहरूले जिते पनि हारे पनि राजाले जितिबक्सियो भनेर खालको सबै पैसा सोहोरेर दिने चलन थियो । उनीहरू जुँगामा ताउ लगाउँदै खुसी हुन्थे । प्राय: आफूले जितेको पैसाको पोको जनतालाई नै फिर्ता दिएर जान्थे ।
२००७ सालको आन्दोलनमा जुद्धशमशेरको सालिक पनि तोडफोड भयो । कल्की भाँचियो, सालिकलाई केही भएन । ०१७ सालपछि पाँच सरकारको शासनकाल आयो । क्रेन लगाएर जुद्धशमशेरको सालिक उखेलेर त्यहाँ त्रिभुवनको पूर्णकदको सेतो सालिक स्थापना गरियो । त्रिभुवनको सालिक जुद्धशमशेरको जस्तो राजसी ठाँटमा थिएन । दौरा, सुरुवाल, टोपी र गलबन्दी लगाएको सामान्य जनताको जस्तो बनाइएको थियो । त्यसपछि चोकको नाम जुद्धचोकबाट त्रिभुवनचोक भयो । पाँच सरकारको दबदबा बढ्न थाल्यो । जनता फेरि नतमस्तक भए । पाँच सरकारको सान र रवाफ भने पाँच सरकारको जति थिएन ।
समय पृथ्वीझैँ घुमिरह्यो । शासक र शासन पनि फेरिँदै गए । ०४६ सालको जनआन्दोलन भयो । त्यसले त्रिभुवनको सेतो सालिक ढलाएन । ०६२/०६३ सालको जनआन्दोलनले भने ढलायो । किनभने त्यो आन्दोलन राजतन्त्रविरोधी थियो । नेपालगन्जमा भने त्यसपछि जातीय, क्षेत्रीय र धार्मिक आन्दोलन भए । यो ठाउँले खुब दु:ख खेप्यो, शोक बोक्यो । यो घाउ धेरै लामो समयसम्म सन्चो हुँदैन होला ।
मधेस आन्दोलनमा कमल गिरी भन्ने एक स्थानीय मानिस त्रिभुवन चोकमा सहिद भए । उनी पहाडिया थिए । तर, मधेस आन्दोलनमा सहिद भएकाले उनैको नामबाट आन्दोलनकारीले त्रिभुवनचोकलाई कमल मधेसी चोक भनेर त्रिभुवनको सालिक उभ्याइएको स्तम्भमा लेखे । त्यो नाम अन्त कतै लेखिएन । न मान्छेहरूको मनमा लेखियो, न चोकवरिपरिका साइनबोर्डमा लेखियो ।
नेपालगन्ज जानेबित्तिकै मलाई सबैभन्दा पहिले प्रभाव पारेको यही त्रिभुवन चोकले हो । सबैभन्दा पहिला लेखेको कथा पनि यही चोकको हो । यो चोकको कथा नेपालका थुप्रै सहरी चोकको साझा कथा हो ।
किनकिन मलाई एकपटक अष्टधातुद्वारा निर्मित जुद्धशमशेरको सालिक हेर्न मन लाग्यो । साथी ओविराज आचार्यको सहयोगमा नेपालगन्ज नगरपालिकामा गएर सालिकलाई हेर्न र अध्ययन गर्न पाएँ । स्टोर रुममा काम नलाग्ने सामान र फर्निचर मिल्काइएको ठाउँमा धुलैधुलो ओडेर लडेको जुद्धशमशेरको सालिकलाई उठाएर हेर्न खोजेँ तर सकिनँ । श्रीपेचको कल्की भाँचिएको त्यो सालिक एकदम गह्रुंगो थियो । लाग्यो, यसलाई सरकार, नगरपालिका र नेताहरूले मात्र उठाउन सक्छन् । मेरो मनले पटक–पटक सालिकरहित त्रिभुवनचोकमा जुद्धशमशेरको सालिक राखेर हेर्यो र दियो, जुद्धचोक । यो चोकलाई हेर्दाहेर्दै मैले एउटा सेर फुराएँ– पत्थरको मुटु हुने मालिक ढालेर के भो ? चोकचोकमा निर्जीव सालिक ढालेर के भो?
यो चोकको इतिहासलाई दुनियाँले पढ्न पाउनुपर्छ । नयाँ व्यवस्था र तिनका शासकले नयाँ ठुल्ठूला सडक बनाऊन् र विशाल चोक स्थापना गरून्, जहाँ नयाँनयाँ व्यक्तित्वको सालिक स्थापना गरून् । राणाहरूले बनाएको पुरानो सिंहदरबारमा बसेर लोकतान्त्रिक तथा गणतान्त्रिक शासन चलाउन हुने तर राणाहरूले बनाएको सालिक या राजाहरूले बनाएको सालिकलाई किन उपेक्षा गरिनुपर्ने ?

No comments:
Post a Comment