समाजवादको नयाँ चरणमा प्रवेश गर्न नयाँ नेतृत्व चाहिन्छ'
रेवती सापकोटा
काठमाडौं : एमाओवादी नेता डा. बाबुराम भट्टराईले नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द 'विप्लव' र एमालेलाई आफ्नो पार्टीमा ल्याउने योजना घोषणा गरेका छन्। केन्द्रीय समितिको बैठक बस्नुअघि शनिबार भट्टराईले दैनिक पत्रिकाका पत्रकारलाई आफ्नै निवास सानेपामा बोलाएर योजना घोषणा गरेका हुन्।
पटकपटक स्थगित हुँदै आएको एमाओवादी केन्द्रीय समितिको बैठक आइतबार सुरु हुँदैछ। आगामी महाधिवेशनपछि आफूले पार्टीको नेतृत्व लिने संकेत गर्दै भट्टराईले नयाँ विचार, नयाँ पार्टी र नयाँ नेतृत्व गर्ने चरण आएको बताए।
'कम्युनिस्ट आन्दोलन नयाँ चरणमा प्रवेश गर्नेछ', उनले भने, 'विप्लव, मोहन वैद्य, मणि थापा, मातृका यादव, मसाल, नेमकिपा र एमालेसम्मका क्रान्तिकारीलाई गोलबन्द गर्ने गरी नयाँ ढंगको पार्टी निर्माण गर्नुपर्छ।'
आफूहरूले २०६० मा अगाडि सारेको २१औं शताब्दीको जनवादलाई परिमार्जन र विकसित गरेर अगाडि बढ्ने योजना पनि उनले सुनाए। नेपाली कम्युनिस्ट आन्दोलनमा 'अर्को क्रमभंग' आवश्यक रहेको बताउँदै भट्टराईले भने, 'एउटा युग सकिएर अर्को युगमा रूपान्तरण गर्दैछौं।
त्यस कारण हामी आफ्नो पार्टीमा मात्रै होइन, समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले संगठित गर्दै जानुपर्छ। महाधिवेशनका क्रममा त्यो खालको बहस पनि चलाउँछौं।'
उनका अनुसार आइतबार सुरु हुने केन्द्रीय समिति बैठकले एक वर्षको अवधिमा महाधिवेशन गर्ने निर्णय गर्नेछ। '६ महिना लगाएर महाधिवेशनका लागि दस्ताबेज तयार पार्ने, अर्को ६ महिना गाउँ कमिटीदेखि केन्द्रसम्म त्यो दस्ताबेजमा बहस गर्ने अनि महाधिवेशन गर्ने बारेमा छलफल भइरहेको छ,' उनले भने, 'अब कम्युनिस्ट आन्दोलन अर्को नयाँ चरणमा प्रवेश गर्नेछ।'
समाजवादको नयाँ चरणमा प्रवेश गर्नका लागि नयाँ पार्टी र नेतृत्व चाहिने उनको भनाइ थियो। अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व छोडेपछि उनलाई राजनीतिक र वैचारिक कामको जिम्मेवारी हुने भट्टराईले बताए।
'कमरेड प्रचण्ड र मेरो बीचमा बाहिर विवाद देखिए पनि सबैभन्दा बढी मिल्ने हामी नै हौं। तर वैज्ञानिकहरूले प्रयोगशालामा बहस गरेझैं हाम्रो बीचमा अहिले पनि बहस छ', उनले भने, 'आजीवन पार्टीको नेतृत्वमा रहनु हुन्न भन्ने बारेमा हामीले अगाडि सारेको २१औं शताब्दीको जनवादले भनेको छ।'
दुई वर्षअघि हेटौंडामा भएको महाधिवेशनमा पनि नेतृत्व हस्तान्तरणको विषय उठेको थियो।
'सोसलिस्ट डेमोक्रेसीचाहिँ यो पुँजीवादी लोकतन्त्रभन्दा श्रेष्ठ हुन्छ, राम्रो हुन्छ र सहभागितामूलक हुन्छ भन्ने देखाउनुपर्छ। त्यो नभएसम्म जनताको आकर्षण हुँदैन र समाजवाद सफल हुन सक्दैन भन्ने सन्दर्भमा हामी महाधिवेशनमा जाँदैछौं', भट्टराईले भने, 'त्यतिबेलाचाहिँ २१ औं शताब्दीको जनवादको प्रस्ताव अझै विकसित र परिमार्जित गरेर लागू गर्नुपर्छ भन्ने हाम्रो समझदारी हो।'
समाजवादी क्रान्तिको नयाँ चरणमा प्रवेश गर्न लागेकाले नयाँ चरणले नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन र नयाँ नेतृत्वको माग गर्ने उनको भनाइ थियो।
एक वर्षअघि विराटनगरमा भएको राष्ट्रिय सम्मेलनपछि भट्टराई पक्षले समानान्तर कमिटी गठन गर्दै आएको छ। अब बस्ने बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने र गाउँ जिल्ला आयोजक समिति बनाइने पनि भट्टराईले बताए।
बैठकका लागि अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन लेखिरहेका छन्। आइतबार पहिलो चरणमा स्थायी समितिको बैठक बसेपछि केन्द्रीय समितिको बैठक बस्ने दाहालका स्वकीय सचिव चूडामणि खड्काले बताए।
No comments:
Post a Comment