Wednesday, March 25

राजनीति छाडेर बिजनेशमा झलनाथ खनाल ?


jn khanal
- दृष्टि संवाददाता
१५ वर्ष निरन्तर पार्टीको नेतृत्व गर्दा पनि माधवकुमार नेपाललाई पदको लोभले छाडेको छैन । नेपालले पछिल्लो समय पार्टीमा गुटबन्दी बढाउने मात्र होइन, पार्टी फुटाउनेसम्मको धम्की दिँदै आएका छन् ।  
एमालेका अर्का बरिष्ठ नेता झलनाथ खनाललाई भने न पार्टीको नेतृत्वमा चासो छ न त गुटबन्दीमै मतलब छ । खनाल करिब चार वर्ष पार्टीको नेतृत्व सम्हाले र प्रधानमन्त्री पनि भए । त्यसमै उनी सन्तुष्ट छन् । केही समययता पार्टीका बैठकमा पनि उनको उपस्थिति एकदमै पातलो छ । पछिल्लो समय राजनीतिमा भन्दा उनलाई व्यापारमा चाख लाग्न थालेको बुझिन्छ ।स्रोतका अनुसार एक मलेसियन मन्त्रीसँग पछिल्लो समय खनालको दोस्ती बढेको छ । मलेसियामा पूर्वाधारसम्बन्धि मन्त्री सेरी उतामा सामीसँग उनको मित्रता बढेको हो ।

गत फागुन १५ गते उनी एसियाली पोलिटिकल पार्टीको स्थायी कमिटीको बैठकमा भाग लिनका लागि मलेसिया गएका थिए । त्यसपछि थाइल्याण्ड गएका उनी गत हप्ता फेरि मलेसिया गएका थिए । पछिल्लो उनको मलेसिया भ्रमण व्यक्तिगत भएको स्रोत बताउँछ । एयरपोर्टसम्बन्धी कामको ठेक्काका लागि तीन मलेसियन मन्त्रीसँग डिल भइरहेको स्रोत बताउँछ । ती मन्त्री मंगलबार नेपाल आइसकेका छन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का पनि उनका छोराले चिनियाहरुसँग मिलेर गरिरहेको स्रोत बताउँछ । जसमा नारायण कार्कीको पनि सहकार्य छ ।
खनाल प्रधानमन्त्री हँुदा पीए भएका दीपकचन्द्र अमात्य यतिबेला पर्यटनमन्त्री छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्ट पुर्ननिर्माणको ठेक्कासम्बन्धी काममा कुरा नमिल्दा उनले नै भिम आचार्यलाई हटाएर अमात्यलाई पर्यटन मन्त्री बनाएको चर्चा हुँदै आएको छ । यही बेला झलनाथ खनाल पनि व्यक्तिगत भ्रमणका लागि बिदेश धाइरहेका छन् ।
हुन त उनी पहिलेदेखि नै सोखिन नेताका रुपमा चिनिन्छन् । इलामका खानदानी परिवारमा जन्मिएका खनाल कम्युनिस्ट नेताहरुमध्ये लवाईखवाईमा सौखिन नेताका रुपमा चिनिन्छन् । त्यहीकारण उनी प्रधानमन्त्री बन्ने सपना पूरा भइसकेपछि राजीतिबाट टाढा हुँदै गएको बताइन्छ । पछिल्लो समय आम्दानीको स्थायी व्यवस्था गर्नतर्फ उनी व्यवसायतिर लागेका छन् । दुई वर्षअघि नै उनले माछापुच्छ्रे हर्बल उद्योग श्रीमतीको नाममा किनेका थिए । तर उक्त कम्पनीले राम्रो प्रतिफल दिन नसकेपछि अर्काे राम्रो व्यवसायको खोजीमा उनी रहेको स्रोत बताउँछ ।


No comments: