Monday, March 16

क्रान्ति गर्न तयार भए प्रचण्ड–वैद्यसँग एकता : विप्लव

गोरखा : नेकपा माओवादीका महासचिव नेत्र विप्लवले अग्रगामी क्रान्ति गर्न तयार भएमात्र एमाओावदी र वैद्य माओवादीसँग एकता हुने बताएका छन् ।

गोरखाको काफलडाँडामा आयोजित पार्टीकी पोलिटव्यूरो सदस्य उमा भुजेलकी आमा गर्भकुमारीको श्रद्धाञ्जली सभामा बोल्दै महाचिव विप्लवले प्रचण्ड र बाबुरामले जनतासँग गरेको बाचा पूरा गर्न अग्रगामी क्रान्तिका लागि तयार भएमात्रै उनीहरुसँग एकता सम्भव रहेको बताएका हुन् ।


उनले एमाओवादी जनतासँग गरेको बाचा पूरा गर्न तयार भए पार्टी एकता हुनसक्ने पनि संकेत गरे । ‘ अग्रगामी क्रान्तिलाई अगाडि लान तयार भई प्रचण्ड र बाबुरामजी सच्चिएर आउनुभयो भने माओवादी शक्तिहरु एक हुन सम्भव छ’ उनले भने, ‘तर अहिले चर्चा चलेजस्तो वैद्य र प्रचण्डजीहरु एक हुनुको खासै अर्थ छैन ।’

श्रद्धाञ्जली सभामा बोल्दै उनले पार्टी एकता नभए पनि माओवादी शक्तिहरु ध्रुवीकरणचाहिँ हुनसक्ने तर्फ संकेत गरे । कार्यक्रममा बोल्दै विप्लवले विद्यमान राजनीतिक गतिरोधको निकास ‘रोल्पा सहमति’मा रहेको खुलाएका छन् । उनले ‘रोल्पा सहमति’ सबैले एकपटक दोहोर्‍याउन आग्रह गरे ।

संसदवादी र क्रान्तिकारी पार्टीबीच ०६२ को बैसाखमा भएको ६ बुँदे रोल्पा सहमति अक्षरशः कार्यान्वयन गरेमात्रै सबै समाधान निस्कने उनले दाबी गरे । ‘हामीले नयाँ एजेण्डा र अडान तेस्र्याएका होइनौँ’ उनले भने, ‘रोल्पामा भएको ६ बुँदे सहमति कार्यान्वयन गर भनेका छौं । त्यो कार्यान्वयन भए सबै मतभेद र विवादको निकास आउँछ ।’

संसदवादीले माओवादीको राजनीतिक मुद्दा कार्यान्वयन गर्न पहल गर्ने र माओवादीले सशस्त्र युद्ध रोक्ने सहमति भएको उनले स्मरण गरे ।

सहमति भुलेर संसदवादीहरु भारत र अमेरिकाको पछुवा भएको उनले आरोप लगाए । ‘माओवादी नेताहरु पनि स्वार्थको गोलचक्करमा फसेकाले देश अन्यौलको दलदलमा भासिएको हो’, उनले भने, ‘अहिले रोल्पा सहमति उल्लंघनको चरम सीमामा पुगेको छ । अब हामी संघर्ष गर्छौं ।’

उनले आफूहरुको लडाइँ नेपाली सेनासँग नभएको स्पष्ट पारे । ‘हामीले सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग पनि लड्न खोजेका होइनौं’, उनले भने, ‘हाम्रो लडाइँ भ्रष्टचारी र देशद्रोहीसँग हो ।’

उमा भूजेलका दाजु गंगाबहादुरको अध्यक्षतामा भएको शोक सभामा नेकपा माओवादी तमुवान राज्य इन्चार्ज शावित्रा दुरा आस्था, केन्द्रीय सदस्यहरु गुणराज लोहनी, शरदसिंह भण्डारी, गगन थापा र बसन्त श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।

स्राेत    annapurnapost.

No comments: