यो त अति भो, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछौं : गगन थापा
२०७१ फागुन १० गते १३:४० मा प्रकाशित
१० फागुन, काठमाडौं । नेपालीमा चर्चित उखान नै छ- ‘तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु ।’
अख्तियार दुरुपयोग अनुन्धान आयोगले गत भदौमा १४ वटा जलविद्युत आयोजनाको इजाजतपत्र खारेज गर्न निर्देशन कार्यान्वयन गराउने सवालमा उर्जामन्त्री राधा ज्ञवाली र सचिव राजेन्द्रकिशोर क्षेत्रीले यही उखान हुवहु पछ्याएका छन् ।
अख्तियारको निर्देशन बमोजिम उर्जासचिव क्षेत्रीले कानूनसम्मत् नभएको भन्दै १४ वटै आयोजनाको इजाजतपत्र खारेज गर्ने निर्णय गरे । तर, मन्त्री ज्ञवालीले आफ्नै सचिवले गरेको निर्णय उल्ट्याउनु पर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिन् । जुन अहिले बिचाराधीन छ ।
‘एउटै विषयमा उर्जा मन्त्री र सचिवको किन यति हदसम्मको फरक बिचार ?’ आइतबार बसेको व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको बैठकमा सभापति गगन थापाले प्रश्न गरे ।
‘सचिवज्यू र मबीच कुनै मतभेद छैन, उहाँ अत्यन्तै क्षमतावान मान्छे भएकाले मैले नै उर्जा मन्त्रालयमा ल्याएकीँ हुँ’ जवाफमा मन्त्री ज्ञवालीले भनिन्- ‘उहाँ कर्मचारी भएकाले अख्तियारदेखि डराएर अख्तियारको निर्देशन पालना गर्नुभयो । म त राजनीति गर्ने मान्छे देश र जनताको पक्षमा निर्णय गराउन मन्त्रिपरिषदमा प्रस्ताव लगेँ ।’
आफूहरुबीच सल्लाह भएर नै यस्तो निर्णय गरिएको ज्ञवालीले बताइन् । ‘सचिवले गरेको निर्णयको विरुद्धमा सचिवकै संलग्नतामा मन्त्री परिषदमा प्रस्ताव लान नमिल्ने व्यवस्था भएकाले अख्तियारसँग पनि मौखिक छलफल गरेर सचिव विदा बसेको अवसरमा मैले मन्त्रिपरिषदमा प्रस्ताव लगेकी हुँ, यस विषयमा म र सचिवबीच पनि सल्लाह भएको थियो,’ उनले भनिन् ।
तर, उर्जासचिव क्षेत्रीले भने मन्त्री र आफूबीच यस विषयमा कुनैपनि सल्लाह नभएको दाबी गरे । ‘उर्जा सचिवको हैसियतमा मलाई अख्तियारको निर्देशन बाध्यकारी हुन्छ भनेर मैले पटक-पटक भन्दै आएको थिएँ । मन्त्रीज्यूलाई पनि त्यही भनेको थिएँ । र, अख्तियारको निर्देशनअनुसार १४ वटा आयोजनाको इजाजत खारेज पनि गरेँ,’ उनले भने- ‘मेरै उपस्थितिमा मन्त्रीले इजाजतपत्र नविकरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लान संभव थिएन । यो विषयमा चाहिँ हामीबीच छलफल भएको थियो । म विदामा बसेको बेला पारेर मन्त्रीज्यूले प्रस्ताव गर्नुभएछ । मभन्दा माथिल्लो तहबाट भएको निर्णयमा मेरो कुनै टिप्पणी छैन ।’
दुईजनाबीच मिलेमतोको आशंका गरिरहेका समितिका सभासदहरु मन्त्री र सचिवको जवाफ सुनेपछि मुसुमुसु हाँसे । उर्जासचिवले जवाफ दिइरहँदा समितिका सभापति गगन थापाले मिलेमतोमा निर्णय गर्नुभएको हो ? भनेर प्रतिप्रश्न गरे । सचिवले मिलेमतो नभएको दाबी गरे तर मन्त्रीले भने सचिवसँग सल्लाह गरेरै निर्णय गरेको बताएपछि रहस्य खुल्यो ।
अख्तियारको डरले डराएर कर्मचारीतन्त्रले निर्णय गर्न नसक्ने अनि जुनसुकै विषयलाई अख्तियार छल्न मन्त्रिपरिषद लाने प्रवृत्ति मौलाउँदै गएकोप्रति सभापति थापाले चिन्ता प्रकट गरे ।
‘१४ आयोजनाको विषयमा आयोजनाहरुको अवस्था हेरेर कुन-कुनको लाइसेन्स नविकरण गर्ने र कुन-कुनको नगर्ने भनेर निर्णय गर्नुपर्थ्यो,’ थापाले भने- ‘उहाँहरुको जवाफले कानूनी राज्यको उपहास गरेको छ । यो त अत्ति भो त्यसैले यो समितिले यस विषयमा पत्राचार नै गरेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछ ।’
समितिले यसै विषयमा छलफल गर्न सोमबार पनि बैठक बोलाएको छ । सोमबारको बैठकले मन्त्री र सचिवलाई कडा निर्देशन दिने र प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउने थापाले बताए । समिति मन्त्रालयको भौतिक र वित्तीय प्रगति मात्रै होइन प्राप्त उपलब्धिका बारेमा आश्वस्त हुन खोजेको उनले बताए ।
अख्तियारले नै निम्त्याएको समस्या
मन्त्री ज्ञवालीले अख्तियारले इजाजतपत्रको समयावधि सकिनु अगावै आयोजनाहरुको फाइल लगेकाले १४ आयोजना खारेजीमा जानुपर्ने अवस्था सिर्जना भएको दाबी गरिन् ।
‘आयोजनाहरुको इजाजत अवधि सकिनु अगावै अख्तियारले सम्पूर्ण कागजात लगेका कारण समयमै इजाजत नविकरण हुन नसकेको हो,’ उनले भनिन्-‘लामो सयम विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक नबस्दा, विद्युत विकास विभागले काम नगर्दिँदा र उर्जा मन्त्रालयले पनि वास्ता नगर्दा प्रवर्द्धकहरुले दु:ख पाएका थिए । म त देश र जनताको पक्षमा राजनीति गर्ने मान्छे कसरी प्रवर्द्धकहरुको दुःख हेर्न सक्छु र ?’
१३ वटा आयोजनाको इजाजत नविकरण गर्नपर्ने माग गर्दै उर्जामन्त्रीले मन्त्रिपरिष्दमा प्रस्ताव लगे पनि मुख्यसचिवले कार्यप्रगति भएका आयोजनाको बारेमा मात्रै छलफल गर्न सकिने भनेपछि ८ आयोजनाको मात्रै इजाजत नविकरण गर्ने प्रस्ताव पेस भएको छ । उक्त प्रस्तावमा पनि आवश्यक कागजात नपुगेको भन्दै छलफल नै भएको छैन ।
‘निर्णयका लागि आवश्यक कागजात नपुगेको भनेपछि अहिले मेरो प्रस्ताव मन्त्रिपरिषदमा बिचाराधीन छ,’ उनले भनिन्- ‘कागजात जुटाइरहेको छु । मंगलबार बस्ने मन्त्रिपरिषदले मेरो प्रस्तावअनुकुल निर्णय गर्नेमा विश्वस्त छु ।’
मन्त्रालयको प्रगतिप्रति सचिव नै असन्तुष्ट
‘म उर्जा मन्त्रालयको सचिव तर म आफैं पनि मेरो मन्त्रालयको प्रगतिप्रति सन्तुष्ट छैन’ उनले भने- ‘हामीसँग जनशक्तिको ठूलो अभाव छ । यही अवस्थामा उर्जा मन्त्रालयमा देउता नै आएर चलाएपनि सन्तोषजनक प्रगति गर्नसक्ने अवस्था छैन ।’ उनले कर्मचारीको दरबन्दी बढाउन आफूले काम गरिरहेको सुनाउँदै समितिको सहयोग पनि मागे ।
No comments:
Post a Comment