गंगा बीसी
केही दिनअघि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग राजनीतिक दलबीच भइरहेको शीर्ष वार्ताबारे बुझ्ने प्रयास भयो । प्राय: आफैं फोन उठाउने भएकाले धेरै संवाददाताले उनलाई सम्पर्क गर्छन् । कति कुरा भन्छन्, कति भन्दैनन्, त्यो अलगै विषय हो । अचम्म ! त्यस दिन उनले फोन उठाए तर निकै अस्वाभाविक ढंगले प्रस्तुत भए । सोधेको थिएँ, 'माघ ८ भित्र संविधान आउने भयो त ?' प्रश्न र्झन नपाउँदै उनी चर्किए, 'तपाइर्ंहरूको अलिकति पनि विवेक छैन । माघ ८ मा संविधान आउँदैन भनेर मैले पहिलेदेखि भन्दै आएको छु । तपाईंहरू लेख्नुहुन्न । उनको यस्तो जवाफ आएपछि 'माफ गर्नुहोला' भन्दै फोन राख्नुको विकल्प थिएन ।
राजनीतिक दलका नेता र पत्रकारबीच हुने कुराकानीको यो एउटा उदाहरण मात्र हो । वास्तवमा दलका नेताहरू सबभन्दा 'चतुर प्राणी' हुन् । ती नेतासँग नियमित सम्पर्कमा रहनु राजनीतिक संवाददाताको अनिवार्य सर्त हो । तर, नेताहरूको स्वभाव अनौठोे छ । आफूअनुकूल समाचार आयो भने दङ्ग, नत्र माथिजस्तै ।
केही समयअघि एक एमाओवादी नेताले भने, 'पत्रकारलाई धेरै नजिक ल्याउन पनि नहुने, धेरै टाढा राख्न पनि नहुने ।' त्यहीअनुसारले नेताले पत्रकारलाई व्यवहार गर्छन् । मुख्यगरी मूलधारमा रिपोर्टिङ गर्ने पत्रकारका लागि त्यस्तै बाध्यता छ । नेतासँग सम्पर्क गरे पनि गाह्रो, नगरे पनि गाह्रो । किनकि यो धर्तीका चतुर प्राणीले पत्रकारलाई जहिले पनि सकेसम्म उपयोगको नीति लिन्छन् । त्यस्ता केही थोरै पत्रकार छन्, जो नेताहरूबाट महत्त्वपूर्ण सूचना लिन सफल हुन्छन् ।
प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस वरिष्ठ शेरबहादुर देउवासँग पत्रकारको सजिलै कुराकानी हुन सक्दैन । कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालले आफैं फोन उठाउने भएकाले उनीहरू तुलनात्मक रूपमा अरूभन्दा सहज छन् । एमाओवादी नेता भट्टराईका सहयोगीका कारण पत्रकारको पहुँच त्यति गाह्रो छैन ।
कोइराला, दाहाल र ओलीसँग पत्रकारको टेलिफोनमा एकदम कम मात्र कुराकानी हुन्छ । तीन नेताको विशेषता टेलिफोन संवादमा आफ्नो कुरा स्पष्टसँग भन्छन् । कोइराला टेलिफोनमा लामो कुरा गर्न रुचाउँदैनन् । ओली र दाहाल भने पत्रकारले टेलिफोनबाट राखेको जिज्ञासा मेटाउने प्रयास गर्छन् । तर, पत्रकारका लागि यी तीन नेतासँग कुरा गर्न सहयोगीको मद्दत नभई सम्भब छैन । एमाले नेता खनाल टेलिफोनमा उपलब्ध भएपछि सकभर चित्त बुझाएर बोल्छन् । अर्का नेता नेपाल भने संक्षिप्त प्रतिक्रिया दिन्छन् । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा समाचारका लागि टेलिफोनमा उपलब्ध हुँदैनन् । उनी सकभर भेटेर कुरा गर्न रुचाउँछन् । एमाओवादी वरिष्ठ नेता भट्टराई सम्भवत: प्रेसमा बढी छाउनेमा पर्छन् ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल पत्रकारका लागि सजिला मात्र होइनन्, शीर्ष बैठकको कुरासमेत खुलाउँछन् । धेरै लामो कुरा नगरे पनि उनले आफ्नो भनाइ स्पष्टसँग राख्छन् । तर, उनको एउटा बानी अलि अप्ठ्यारोे छ । फोन उठाएपछि कति बेला राख्छन्, पत्रकारलाई मेसो पाउन गाह्रो हुन्छ । एमाओवादी उपाध्यक्ष श्रेष्ठ आफ्नोअनुकूल हुने गरी पत्रकारसँग कुरा गर्छन् । बेलाबेला उनी आफू पत्रकारको पनि रिपार्टर भएको सुनाउँछन् । एमाओवादी महासचिव कृष्णबहादुर महरा कूटनीतिक तरिकाले जवाफ दिन्छन् । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला 'चिनेका' पत्रकारहरूसँग बढी खुल्छन् । एमाले महासचिव ईश्वर पोख्रेलले पत्रकारको प्रश्नको तिखो जवाफ दिन्छन् । कहिलेकाहीं उनी उल्टै पत्रकारलाई प्रश्न सोध्छन् ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको आफ्नै शैली छ । टेलिफोनमा पत्रकारसँग कमै उपलब्ध हुन्छन् तर उपलब्ध भएको अवस्थामा आफ्नो कुरा खुलस्त राख्छन् । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव भने 'बुलेट' शैलीले उत्तर दिन्छन्, छोटोमा ।
नेकपा-माआवादी अध्यक्ष मोहन वैद्यसँग प्राय: पत्रकारले टेलिफोनमा कुरा गर्न सक्छन् । उनले प्रेससँग आफ्नो भनाइ जस्ताको तस्तै बताउँछन् । त्यही पार्टीका महासचिव रामबहादुर थापाचाहिँ प्रेसदेखि टाढा भाग्छन् ।
नेताको उपयोग नीति
नेताहरूले जहिले पनि पत्रकारलाई उपयोगको नीतिले हेरेको देखिन्छ । थोरै नेता मात्र पत्रकारका लागि 'हितैषी' हुन सक्छन्, जसले समाचारका लागि राम्रो सामग्री दिन्छन् । ती नेताले दिएको सामग्री गलत हुने सम्भावना एकदम कम हुन्छ । अधिकांश नेताले आफ्नो कुरा बाहिर ल्याउन पत्रकारलाई 'हल्कारा' को रूपमा हेरेको पाइन्छ । जुन कुरा थोरै पत्रकारले मात्र बुझेका हुन्छन् । धेरै पत्रकार नेताको 'हल्कारा' हुनुमा गर्व पनि गर्छन् ।
राजनीतिक दलहरूबीच द्वन्द्व भएको अवस्था, निर्वाचन, पार्टी महाधिवेशन, पार्टीभित्र अन्तरसंघर्ष चलेको बेला नेताहरूले पत्रकारलाई सबभन्दा बढी उपयोग गर्न खोज्छन् । सम्बन्धित 'बिट' का पत्रकारलाई उपयोग गर्न आवश्यक पर्ने सबै उपाय अपनाउँछन् । कुनै पनि निर्वाचन भएको अवस्थामा मत बढ्ने गरी समाचार प्रकाशन, प्रसारण गर्न नेताहरूले उपाय अपनाएको पाइन्छ ।
पछिल्लोपटक संविधानसभाको अवरोधबारे राजनीतिक दलका नेताहरूले सञ्चारमाध्यममा एकअर्कालाई आरोप प्रत्यारोप गरे । यस्तो बेलामा आफ्नो तर्क बलियो पार्न उनीहरूले संवाददातालाई प्रयोग गर्न खोजेको देखिन्छ । धेरै हदसम्म उनीहरू सफल पनि हुन्छन् । जब नेताहरू पत्रकारलाई उपयोग गर्न सफल हुन्छन्, त्यसबेला समाचार सन्तुलन बिग्रेका प्रशस्त उदाहरण भेट्न सकिन्छ । राजनीतिक दलबीच द्वन्द्व बढेको बेला आफ्नो तर्क बलियो बनाउन नेताले सबै शक्ति प्रयोग गर्ने प्रयास गर्छन् । त्यस्तो बेला जुन नेता सफल भयो, उसले धेरै हदसम्म भ्रम छर्न सफल पनि हुन्छ । पार्टी महाधिवशेनका बेला प्रतिस्पर्धीले पत्रकारलाई लागि दैनिक भोज गरेका उदाहरण एमालेको गएको महाधिवेशनमा देखियो ।
नेता-पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो हुन सक्दैन । बरु दुई औंलाको जस्तो हुन्छ, कहिले नजिकिने, कहिले टाढा हुने । विशेषगरी राजनीतिक रिपोटिङ गर्ने संवाददाताहरू नेताहरूले उपयोगको नीतिबाट चनाखो हुनैपर्छ । संवाददातालाई आफैं सम्पर्क गरेर सही सूचना दिने नेताहरू कमै हुन्छन् । जो पत्रकारका लागि असली स्रोत पनि हुन् । ती नेतालाई प्रचारको त्यति मोह पनि हुँदैन । संवाददातालाई आफैं फोन गरेर सूचनाको नाममा आफ्नो विचार दिन खोज्ने नेता धेरै हुन्छन् । ती नेताले बेलाबेला पत्रकारलाई उपयोग गरी आफ्नो विज्ञापन गर्न खोज्छन् । त्यसबेला समाचार र नेताको विज्ञापनबारे छुट्टयाउन नसके पत्रकार फस्यो ! नेताले पत्रकारलाई शंका र विश्वास दुवै हिसाबले हेरेेको हुन्छ । त्यसकारण उसले सबै कुरा पनि भन्दैन, सबै कुरा पनि लुकाउँदैन । पत्रकारले पनि नेतालाई त्यही रूपमा हेर्न आवश्यक हुन्छ । विश्वास नगरे समाचार नबन्ने र शंका नगरे समाचार गलत हुने जोखिमबाट बच्न गाह्रो हुन्छ ।
विशेषगरी राजनीतिक रिपोर्टिङ हेर्दा सजिलोजस्तो लाग्छ । नेताले बोेलेको कुरा लेख्यो, काम खत्तम । तर, भनेजस्तो सहज छैन । अहिले पनि राजनीतिक नेताको एउटा प्रवृत्ति छ, आफ्नो पकेटका संवाददातालाई पहुँच दिने । राजनीतिक संवाददाताका आफ्नै बाध्यता छन् । दलभित्रका विशेष नेतासँग 'उचित' सम्बन्ध नभए सूचना पाउन गाह्रो छ ।
राजनीतिक दलका प्रवक्ताहरूबाट सबै सूचनाको आस गर्नु भनेको संवाददाता अप्ठ्यारोमा पर्नु हो । दलका प्रवक्ताले सूचना प्रशोधनपछि मात्रै बाहिर ल्याउने भएकाले संवाददाताहरू पूरै भर पर्न सक्दैनन् । त्यसका लागि संवाददाताको चुनौती भनेको राजनीतिक दलभित्र बहुस्रोत बनाएर राख्नु हो । दलभित्रका स्रोत बचाउने क्षमता राख्नु पनि उसको अर्को खुबी हो । दलकका गोप्य दस्ताबेज प्राप्त गर्न पार्टीभित्र विश्वस्त स्रोत नभई सम्भव छैन ।
प्रकाशित मिति: २०७१ माघ १० ११:२५
No comments:
Post a Comment