Saturday, January 31

काँडामा फक्रेको जीवन”

बेगुराम राइ
छैन दोष कसैसंग छ बरु
यही पापी भाग्य संग !

              छ चिनजान सबैसंग छैन बरु
               त्यही निष्ठुरी समयसंग !!

सोचे जस्तो, चाहे जस्तो र सम्झे जति त कहिल्यै नहुदो रहेछ । लेखान्तले भाग्यमा जस्तो जुराएको छ त्यही मात्र पाईदो रहेछ। आखिर मानवीय जीवन न हो !! म एउटा रंगीन विद्यार्थी हुँ भनेर सर्वप्रथम त आफैलाई सम्बोधन गर्नु पर्ला । भनौ गर्नु मन लाग्छ । किन की मान्छेको जिन्दगी भन्नु नै हरेकौ दुःख र पीडा, अभाव, असन्तुष्टिको रंगी विरंगीन बगैंचाबीच फुल्ने जीवनरुपी फूल हो । त्यसैले पनि त होला मान्छेहरु भन्ने गर्छन्, “शुख र दुःख त जीवन जिउने एउटा आधार हो” भनेर वास्तवमा हो पनि ।र त्यही शब्दलाई आज म पनि यहाँ थपनी हाल्न चाहेको छु । र यो तीन शब्दे जिन्दगीदेखी पनि भार लागेको छ मलई ।अब खै यो अर्थहीन जिन्दगीलाई कसरी व्याख्या गरौ म आज । जिन्दगीलाई म हिमाल भनौ कि तराई या मग्मगाउ‘दो फूल भनौ । कि सुकेको डाली अनि वसन्ती बहार नै भनौ कि मरुभूमि नै भनेर सम्बोधन गरौ म । म अनविज्ञानले बुझ्नै सकिन ।कहिले कहि त जिन्दगी त फूल पो हो भन्दै खुशी लिएर रमाउंदा पिडापूर्णको मृत्त जिन्दगीलाई सम्हाल्न बाध्या पनि हुन्छु । खै ...के ठानौ म, के नै भनौ । बिहानी झै सुनौलो जीवन र गोधुली जस्तै दृष्टीहीन भाग्यको वास्तविक भोगाईहरु आज म यहाँ प्रस्तुत गर्ने चेष्टा गरी रहेको छु । “कृपया साथी लगायत आमस्रोता घृणमा परिणत अवश्य नगरिदिनु होला ।            यो दुःखी विद्याथीको आग्रह !!!
नेपालको पूर्विया क्षेत्रमा सगरमाथा पर्दछ । त्यही सुन्दर सगरमाथाको काखमा नै सुन्दर र प्रकृतिको धनी ओखलढुङ्गा जिल्ला देखिन्छ । वातावरणको हिसाबले नेपालकै राम्रो ठाउँ भन्दा फरक नपर्ला । हरियाली डाँडा, पाखा, अनि भञ्ज्याङ चौतारी, देउरालीसंगै मेरो घर तल दुधकोशीले सुनकोशीलाई सुसेल्दै गन्तव्यतिर बग्दछ । मृग, चराचुरुङ्गी आदिको रमणीय ठाउँ यो ठाउँ, गाउँमा धेरै कवि लगायत नामीक व्यक्तिहरु पनि जन्मेका छन् । र यसै ठाउँमा कतिपय गरिब र पीडितको पनि बसाई छन् । स्वच्छ वातावरण र प्रकृतिको उपहार भएता पनि भौतिक दुःखको तिरस्कारको भोगाई छ ।

   मेरो सानो गाउँम छ दश बाह्र घरको बस्तीहो । वातावरणीय रुपमा राम्रै छ । दिदीको विहे भयो । मसंग पन्ध्र बर्षिय बहिनी र बृद्ध अवस्थाको जन्मदाता माता र पिता हुनुहुन्छ । भौतिक अवस्थाले जतिसुकै सताए पनि सानो परिवारले होला खासै पिडापूर्ण चाहि हुन्न जस्तो लाग्छ । बाबा आमाले जे जस्तो भए पनि खान लाउनमा खासै कम ल्याउनु हुन्न थ्यो । तर पनि अरुको तुलनामा हामी त साह्रै तल्लोस्तरको साधारण खेती किसानी हांै । देशको स्थिति पनि त हेर्ने हो भने नाजुक छ । त्यसैले पनि हुनसक्छ । समयको पछि दौडने क्रममा सात, आठतिर पढ्ने भइसके । घर देखि २, ३ घण्टाको बाटो हिडेर स्कुल धाउनु पथ्र्यो । बाटो धेरै हिड्ने पर्ने हुनाले पढाईमा लस्कीन पुगे । धरको काम पनि उत्तिकै गर्नु  पथ्र्यो । महिनाको २ हप्ता जति हाजिर स्कुलमा हुन्छ । पढाइ र यातनापूर्णको जिन्दगीमा बारम्बार धक्काहरु पनि भई नै रहन्थ्यो । कहीले पढाई छोड्ने अवस्था त कहीले व्यवहारहरुको भारीले थिच्थो ा  सायद आर्थीक कमजोरीले पनि होला र धरमा काम गर्नेको पनि   उस्तै जरुरी थियो । तर पनि आफ्नो पढाइलाई रोक्ने प्रयास कदापी गरिन । समयको पानाहरु आफ्नै गतिमा पल्टिरहेको थियो । हरेकौ परिस्थिति र समयहरुलाई अंगाल्दै, एस.एल.सी. को पर्खालमा उभिन सफल भए । यो त मेरो ठुलो खुशीको सौगात हो । किन की म पढेर केही बन्नु पर्ने बाल्यकालिनको सपनाहरु क्षीतीजमा सजाएको छु । यातयातको सुविधा थिएन । घरदेखी हिडेर पुरै एकदिनमा परिक्षा केन्द्रमा पुग्थ्यो । म लगायत चार जना साथी पनि थिए । स्कुलको नजिकै कोठा भाडा लिएर वस्यौं । पहाडको विकट ठाउँ पानी लगायत खाद्यानको अति नै अभाव र महंगो थियो । दुःख सुख नहुंदै परिक्षा पनि सकियो । त्यसपछिको समयहरु त उहि त हो विद्यार्थीको । यो मुटु थर्र थर्र काम्दै नतिजाको पर्खाइमा बितिरहेको छ ।
समय जानु नै के छ र  नभन्दै २०६८ साल असारको पहीलो हप्तामा एस.एल.सी को रिजल्ट आउट भयो । साथीहरु आत्तिन थाल्ये । तर म भने  एकदमै निर्धक्क थिए । चासो नलिनुको कारण पनि त म पहिलानै फेल हुन्छु भन्ने सोचो थियो । तर भोली दिउसो एक बजेतिर होला अन्दाज, अब त पाटी दिने होला नि? पास भएछौ साथीहरुले भने । हे ! प्रभु यो कुरा अमृत साचो होस् । म पास भएको निश्चित भयो । असार –श्रावणको धान रोपाई पनि लगभग सकियो ।
त्यसपछि “लामो सास” त्यसपछिको त्यो मेरो अदृश्यजिन्दगी अनि ती कठोर समयहरु खै कसरी वताउम कसरी नै,साथीहरु कलेज पढ्नको लागि शहर चाहर्न थाले । तर म भने बादल माथिको हजारौ सपनाहरुको भरिय भई आँसुमापौडन थाले । आमासँग असाध्यै जिद्धि गरे कलेज पढ्छु भनि । “कुन आमाको मन कठोर हुन्छ र चाहन्छन् सन्तानको सफलता तर हाम्रो त्यस्तो हैसियत पनि त छैन” आमाले भन्नु भयो । थुक्क दैव तैले साह्रै छल गरिस् । नरकको ढुङ्गा पुज्नु पनि व्यर्थ भो । ‘क’ चिने देखिन्नको त्यो आकाश छुने मेरो आकांक्षाहरु पालेको थिए । “अनायसै भो । पत्रकार हुने मिठो सपना पनि आज जिन्दगी माथि ठुलो दाग लाग्यो । पैसाले गलाएको संसार अनि धनको जुवामा हारेको दुनियाँ, भावना र स्वर्णिम सपनाहरु त मन मिठास बनाउनु मात्र रहेछ । त्यसैले त होला मान्छेहरु पैसामा बराबर बिकिरहेको । मान्छे र पत्तकरको मोलहिन  छ । स्वार्थी संसारमा समय र भाग्यलाई पनि कति दोष दिउँ कति, मनमा हुर्कीएको चाहनाको टुसाहरु समयले भाँचिदियो । खै...के नै लाक्छर ।
त्यसपछि सायद मेरो पीडा देखेर नै होला आमाले १५ हजार रुपैया ऋण खोजेर दिनुभयो । आमाको मन, धन्य छ अमा ! त्यसपछि खुशी साथ सहरको लागि तमतयार भएँ । श्रावण २५गते बिहानै बहीनीले कलस फूलमाला लगाई दिए “यात्रा सफल होस्” भन्नुभयो मेरो ईश्वरी आमाले । “तर खर्च चाहिँ अनावश्यक गर्ने होइन नी” इप् द्यथभ भन्दै बाटोहरुसँग खुसी बाँड्दै यात्रा शुरुवात गरें । ठान्थें कि जिन्दगी अांंंैसी र दुःख पीडा मात्र क्यार । तर यस्तो खुशीको मोडमा पनि पो जिन्दगीलाई भेटीदो रहेछ । आहा ! कस्तो छु म त थोरै खुशीले पनि स्वर्गै जस्तो लाग्छ । थोरै पीडाले पनि आहाड हुन्छु । जिन्दगीमा कति उकाली पनि चढ्नु छ र कति ओराली पनि झर्नु छ । जिन्दगीको परिभाषा त यो पो हो । समयको तराजुमा जिन्दगी जोखिनु ।  मामाको छोरा दाईलाई खोज्दै काठमाडौं आई पुगें ।दाई दुई वर्ष पहिला नै आएर बस्नुभएको थीयो । त्यसैले मलाई त्यति गाह्रो चाहिँ भएन । दाईले केही दिनमा नैै कलेज भर्ना गर्दिनुभयो, यही सिग्मामा । त्यसपछि खुसी हुँदै कलेज जान थालें । खुशी नहुनु पनि कसरी, जिन्दगीमा पहिलो पल्ट सहरको कलेज जाँदैछु । असाध्यै खुशी छु । ६ महिना सम्म त आरामैसँग दाईसँग बसेर पढ्न पाए तर त्यसपछि फेरि, फेरि उही धोवीको कुकुर घरको न घाटको, अभागी जहाँ गए पनि त्यही आफ्नो पेवा दुःख र पीडालाई त अंगल्नु पर्दो रहेछ ।
जिन्दगीमा खासै त्यस्तो कुनै पनि नराम्रो काम र पाप त गरेको जस्तो त लाग्दैन मलाई । तर पनि खै के भयो भयो । सायद यस्तै हुनु थियो होला । अब म प्रष्टै पार्न चाहन्छु । दाइले किन हो त्यो मलाई थाहा छैन । मलाई तिरस्कार गर्न थाल्नुभयो । म माथि गर्नु भएको  त्यस्तो व्यवहार त सायद बाटोको चोर भुस्याह कुकुरमा पनि हुँदैन होला । कस्तो जिन्दगी पाएछु मैले । दैवको लिला पनि अचम्मै छ । आफैलाई धिक्कार्नु बाहेक अरु केही छैन । यो अभागी विद्यार्थी जीवनलाई कतै उचित अवस्था नभएको रहेछ । फेरि गाउँकै अर्को दाईको शरणको भिकारी बन्न पुगें । त्यस दाईको कोठामा पनि भाउजू दिदीहरु गरी जम्मा ५, ६ जना भयो । ६ महिना हुँदैछ म बसेको पनि, व्यवहार र अवस्था त उहि त हो । संसारले ठगेको म अभागी । ससांरकै सौतीनी भाई जन्मेको रहेछु । सबै कुराहरु त म यहाँ प्रस्तुत गर्न पनि असक्त छु । त्यो मेरो स्थितिहरु तपाईहरुले पनि बुझिदिनुहोला ।  मान्छेहरु एकै ठाउँ र एकै समाजको हुँदैन । जस्तो लाग्थ्यो अवसोच तर एउटै देश त रहेछ । सबैले म माथि गरेको व्यवहार त एउटै छ । खै म अवाक छु । औशीरातको कोईली झै भौतारीनु बाध्य भएको छु । अब त जिन्दगीमाथि उठाउँने शब्दहरु प्नि मन मस्तिष्कमा नै बिलाउन थाल्यो । मर्नु र बाँच्नुको दोसादमा उभिरहेको छु । किन किन अब त आफैसँग एकोहोरो हिसाब माग्न मन लाग्छ । मेरो क्पढाईलाई पनि छोड्न सक्दिन न त राम्रो सँग पढ्न नै पाए । बन डढेको खरानी पो सबैले देख्ला तर बिरही यो मन डडेको कसले देख्छ र ? अब त लाग्छ संसारदेखि हारी सकें । कालो बादलमा रुमलिरहेको जिन्दगीलाई ईश्वरको हातमा सुम्पीन मन लाग्छ कहिले काही । त्यसो  पनि नहुँदो, आमाको त्यो ऋण छ मसँग । यो त म जसरी भए पनि चुक्ता गर्नुपर्छ । “अफँ ! बेकारमा जन्मेछु । काँडामा फक्रिएको जीवनमा पीडा लुकाउन दुईवटा दाँत देखाई ङिच्च हासीरहेको छु । मात्र नक्कली जीवन बाँचिरहेको छु ।

साथी, जिन्दगीको सही परिभाषा त मलाई थाहा छैन तर पनि लाग्छ यता कतै मैले भोगेको अनुरुप भोगाई र सम्झौता रहेछ । संसारमा मान्छेहरु एकै रुप लिएर जन्मे पनि जिन्दगी र भोगाई भने फरक हुदोरहेछ ।

आँखा चिम्लेर सोचौ फेरि आँखा खोलेर यो उदांगो संसारलाई नियाली हेरौं त जिन्दगी केही छैन ।
आँखाभरी लहराउने रहर र क्षितिजको सप्तरंगी सपनाहरुलाई पछ्याउनु पनि कत्ति गाह्रो हुँदो रहेछ ।
साथी लगायत स्रोता तपाई मेरो जीवनको वास्तविक भोगाईलाई हेर्नुभयो तर घृणामा परिणत चाहि नगरिदिनु होला । आशा छ हेरिदिनु भयो त्यसमा  धन्यवाद ।।।।   

No comments: