आधाजसो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको आजको समयमा वैदेशिक रोजगारीलाई नकार्न त के यो विनाको अवस्था कल्पनासम्म गर्न सकिन्न । अझै हाम्रोजस्तो विकासशील मुलुकमा त वैदेशिक रोजगार मेरुदण्ड नै बनिसकेको छ । चाहेर या नचाहेर लगभग हरेक परिवारका कमसेकम एक सदस्य देशबाहिरै छन्।
![]() |
| दीप्स शाह |
दुःखजिलो गरेर बाबुआमाले लगभग हरेक नेपाली सन्तानलाई थोरतिनो शिक्षा दिलाएकै हुन्छन्। जब ती आर्जित ज्ञानमा प्वाँख भरेर आफ्नै आकाशमा प्रविधि र परिवर्तनको कावा खाने खाने बेलाको सुरुवात हुन्छ तब ती सबैको हृदयमा बेरोजगारीको कालो बादलले ध्वाँसो पोतिदिन्छ । आनि बाध्य भएर त्यही ध्वाँसो पुछ्नृ, पखाल्ने र टल्किने सपना बोकी ती सबैले देश् छाड्छन् र त्यसरी मुस्किलले आर्जन गरेको ज्ञान कहीँ दूरदेशमा पराईको चरणमा चढाउन बाध्य पारिन्छन् । हामी कर्मशील युवाकै हातले आज मध्यपूर्वका बन्जर मरुभूमि हरियाली बन्दैछ । हाम्रै पाखुराको बलले विदेशी गगनचुम्बी महल ठडिएका छन् । हाम्रै मेहनती हातपाखुराले विदेशका गल्ली, बगैँचा, पार्क्, बाटोघाटो, सपिङ् मल, अस्पतालका शौचालय र एअरपोर्टका भुइँ भित्ता टलक्क टल्किएका छन् । हाम्रै विराट हृदय र कोमल हातले विदेशका रोगी बिरामी स्याहारिएका छन् र लामो र खुशीमय जीवन् बाँच्दैछन् । उता आफ्नो शहर फोहोरको थुप्रोमा पुरिनैलाग्दा हामी यता अर्काको भुइँ टल्काउन बाध्य छौँ । उता स्याहार र गतिलो उपचार नपाई बितेका आफ्ना वयोवृद्ध मातापिताको दुःखद खबरले भक्कानिँदै परेलीमा आँशु रोकेर यता अर्को रोगी बिरामीको लामो र स्वस्थ जीवनको लागि रातदिन लागिपरिरहेका हुन्छौँ । यो रहर हो भने सायद २५ प्रतिशत होला । बाँकी ७५ प्रतिशत चाहिँ विकल्पहीन भयानक बाध्यता नै हो।
यसरी रहरले कहरले विदेशिएर पनि हरेक नेपाली युवाले कमसेकम धेरैथोरै रेमिट्यान्स भएपनि देशलाई बुझाएकै छन् । नहुनु मामा भन्दा कानोमामा जाति भनेझैँ देशको युवाशक्ति विदेशिए पनि त्यसबाट आर्जित पैसाले तिनका बाबुआमाले दुई पैसा देख्न पाएका छन् । तिनका परिवारले केही मात्रामा सुधारिएको जिन्दगी जिउन पाएका छन् र तिनका सन्तानले केही राम्रो शिक्षादिक्षा र उचित लालनपालन पाएका छन् । र, समग्रमा तिनका जीवनस्तर केही त बदलिएको छ । यसरी भएपनि मन् बुझाउनुपर्ने अवस्था थियो, र छ पनि ।
तर अब मन बुझाउने बाटो पनि क्रमशस् भत्किँदै गएको आभास हुन थालेको छ । वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, अनुभव र उकासिएको जीवनस्तरसँगै क्रमशस् धेरै नेपालीको परिवार टुट्दै जान थालेको छ । धेरैको सपना तुहिन थालेको छ। धेरै बालबालिकाको अभिभावक छुट्टिँदैछन् र तिनका मष्तिष्कमा पारिवारिक दरारको नराम्रो घाउ लाग्दैछ । यही टुट्नु र फुट्नु अनि एक्लिनुको पीडामा धेरै नेपाली एकांकी र अपराधी पनि बन्दैछन् । र, तीव्ररुपमा आत्महत्या र हत्याको शृंखला बढ्दै गइरहेको छ । आखिर किन त यस्तो ? यो समस्याको जड के हो ? अनि, यसको निदान कहाँ छ ? यो अत्यन्तै गम्भीर विषय बनिसकेको छ।
गम्भीर भएर सोच्ने हो भने यी तमाम समस्याको जड हाम्रै कमजोरी हो भने यो सबको समस्याको समाधान पनि हामीसँगै छ, हामी जो आफूलाई अलिकति शिक्षित मान्छौँ, जो आफूलाई केही बुझक्कड सम्झन्छौँ । हामीले यो विषयलाई कतिको गम्भीर लिएका छौँ र यसै प्रसंगको कुरो चल्दा भन्ने गर्छन् कि टाढा भएपछि यस्तै हो, दूरी रहँदा अनेक शंका उपशंका उत्पन्न हुन्छन्, एकले अर्कोलाई बुझ्नै सकिन्न । यी भनाइहरू सत्य पनि हुन् तर यी नै उपरोक्त मुद्दाको अन्तिम् कारण र कारक अवस्य होइन । यो विषयलाई केलाउँदै जाँदा यस्तो लाग्छ कि देख्दा सामान्य लाग्ने यो विषय निकै जटिल बनिसकेको छ । यसलाई बुझ्न सुक्ष्मदेखि अअति सुक्ष्म अनि जटिल भन्दा अति जटिल विषय बुझ्न, मनन गर्न र आत्मसात् गर्न जरुरी छ । त्यसको सुरुवात हामी प्रत्येकले आफैँबाट गर्नु जरुरी छ ।
भौगोलिक दूरी त हाम्रो अकाट्य बाध्यता भयो । जसलाई हरहालमा स्वीकार्नु परिरहेको छ। तर मानसिक दूरी त हामी घटाउन सक्छौँ अवस्य । बुझ्नुपर्ने कुरो के हो भने मानसिक सन्तुष्टि र आनन्द शारिरिक आनन्द भन्दा कैयौँ गुणा सन्तोषजनक हुन्छ । भेटिनुको अर्थ, सँगै रहनुको मतलव पनि त केवल दुर्इजनाबीच हुने शारीरिक भोक निदानमात्रै होइन । सँगै हुनु भनेको एक अर्कालाई सम्झने सम्झाउने, बुझ्ने बुझाउने अप्ठ्यारामा पार लाग्ने बाटा पहिल्याउने र आत्मीय तागत दिँदै छातिमा टाँसेर हिम्मत र साहसको महसुस गराउनु हो । यो काम हामी दूरीमा रहँदा किन गर्दैनौँ ? दिनानुदिन बढ्दै गएको प्रविधिको प्रयोगलाई हामी गलत काम र उद्देश्यको लागि प्रयोग गर्नुको साटो आफ्नो सम्बन्ध, विश्वाश र भरोसा मजबुत बनाउन किन प्रयोग गर्दैनौँ ? छुट्टीमा बाहिर निस्केर मान् भुलाउने बहानामा रित्याइने रक्सीका बोतल किन्ने पैसाको केही हिस्सा कलिङ् कार्डमा खर्च गरेर आफ्नाहसँग दुइचार बातचित गर्दै मन् हलुको बनाउन सकिन्छ। डिस्को छिरेर गन्धे नाचमा उडाउने पैसाले घन्टौँ भलाकुसारी गरेर सारा दुखसुख बाँड्न सकिन्छ । अनलाइनमा बसेर बित्थाको भद्दा फोहोरी मजाकमा फ्याँकिने समय आफ्नालाई दिएर नजिकै रहेको आभास दिलाउन सकिन्छ कि ‘तिमी कुनैपनि मुस्किल समयको लागि एक्लो छैनौ । म सँग छु’ भनेर विश्वाश दिलाउन सकिन्छ । अनि यो पनि सकिन्छ कि म जे छू तिम्रो कारणले छु । तिमी छौ र त म छु’ भनेर महसुस गराउन सकिन्छ । मान्छे अपवादमा कोही जन्मजात मूर्ख र दैत्य होला तर लगभग सबै मान्छे आफ्नोपन नै चाहन्छ । साथ र माया अनि भरोसा चाहन्छ र चाहन्छ आत्मिय सम्मान् । त्यति पाएपछि नपग्लिने, खुशी नहुने र भरोसा कायम राख्न लागिनपर्ने मान्छे ज्यादै कम्ती हुन्छन्।
नजिक रहन चाहनु भनेको शारीरिक आकर्षणमात्रै पटक्कै होइन । साथमा समय बिताउनु भनेको स्पर्शको लालचमात्रै अवस्य होइन । एकले अर्कोलाई समय दिनु या समयको चाह राख्नु शारिरिक सम्पर्क र सम्बन्धप्रतिको आशक्तिमात्रै हुँदै होइन । हामी यहीँनिर चुक्छौँ एकले अर्कोलाई बुझ्न र सम्झन अनि भए बसेको गृहस्थी गर्ल्याम्गुर्लुम ढ्ल्छ, हाम्रै आँखाअगाडि केवल एक धर्सो अहम र प्रतिशोधका कारण । शरीरको मिलन हुनु भन्दा धेरै अगाडि मन जोडिनु पर्छ । हृदयको सच्चा सन्तुष्टि मनकै मेलबाट निस्किने इमानदार झंकारबाट मिल्छ । दूरी चाहे होस् या नहोस् तर एक अर्काको कुरा सुन्ने, सुनाउने, समस्या जान्न उत्सुक भइदिने र ढाडस दिने गर्दा जिन्दगीका आधाउधी समस्या त्यसै समाधान भएर जान्छन् । ‘तिमी कुनैपनि अप्ठ्यारामा एक्लै छैनौ । हामी साथसाथै हर दुस्ख झेलौँला’ यति सुन्न पाउँदा नै अनेक विजयको महसुस हुन्छ र हिम्मत आफैँ उत्पन्न हुन्छ । तसर्थ जीवनको रथ सजिलोगरी गुडाउने प्रथम र मूलमन्त्र एकले अर्कोलाई समय दिने हो । त्यो समय भनेको भौगोलिक दूरीमा साथको मापन हुनेहोइन। एकअर्का प्रतिको चासो र देखभालमा गणना हुने हो ।
बाहिर रहनेले यो भुल्नु हुँदैन कि म किन यहाँ छु, केका लागि छु, कसलाई कुन बाचा दिएर सपना र आशा देखाएर आएको हुँ मैले चालेका कदमले प्रत्यक्ष अप्रत्यक्ष कसलाई कस्तो असर पर्छ के यो अवसर, पैसा, र आडम्बर सधैँ रहन्छ ? के मैले अहिले चालेको यो कदम दीर्घकालीन सुखद रहला ? के यो कदमलाइ लिएर मैले जीवनको कुनै मोडमा पछुताउनु नपर्ला ? म एक्लैको सोच, सपना र योजना अनि आँट र खाँचोले यहाँ आएको हुँ र आज यो बदलिँदो योजना एक्लै बनाउदै छु ?
त्यसैगरी घरमा रहनेले पनि सोच्नु पर्छ कि मैले खर्च गरिरहेको पैसा उसले बोटबाट टिपेर पठाएको हो र नचाहेको भए नपठाउन सक्थ्यो, आफ्नो परिवार, जिम्मेवारी र अथाह मायाले पो पठाएको हो, उता तर्तरी पसिना चुहाउँदै हाम्रै लागि भनेर पराइको संसारमा मेहनत गरिरहेको बेला म कसरी यति स्वार्थी भएर मनपरी गर्न सक्छु ? हाम्रो साझा सपनाको लागि उता एक्लै तड्पिरहेको मेरो मान्छेको आत्मीयता, आफ्नोपन र अनन्त माया यो पराइको एकछिनको सामिप्यता र सान्त्वनासँग तुलना हुन सक्छ ? भनेर छातीमाथि हात राखेर सोच्नु पर्छ किनकि हृदयको नजिकपन र अनन्त आफ्नोपन भौगोलिक दूरी र भौतिक भेटको हिसाबमा मापन हुँदैन धेरै नजिक हुँदाहुँदै पनि मानसिक हिसाबमा माइलौँ टाढाको अवस्था रहन सक्छ भने भौगोलिक दूरीमा कहाँ कहाँ रहेपनि मानसिकरुपमा आफ्नोपनको धर्सोमा बाँधिएर हरहमेसा साथै रहेजस्तो आभास बनाउन सकिन्छ ।
जून रहरले घर बनाइन्छ, माथि पुगेपछि त्यही घर गर्ल्यामगुर्लुम ढलेर आफैँलाई किचेर समाप्त गरेजस्तो जुन सपना देखेर घर छोडिन्छ, साथ छुट्छ र एक्लै भूगोलको दुर्इ बेग्लै कुनामा पुगिन्छ अनि आफ्नो धरातल र आफ्नाहलार्इ नै घात गरेर छिन्नभिन्न हुनु भनेको आफ्नो मात्र नभएर कलिला निर्दोष नानीको जिन्दगी पनि तहसनहस पार्नु हो । तसर्थ पैसा, धनसम्पत्ति आवस्यक छ र त अलग्गिनु पर्छ तर त्यही पैसाकै मात लागेर अन्धो हुनु या सीमित समयको लागि शारीरिक समिप्यताको तीव्र आकांक्षामा संयमित हुन नसक्नुले भगवानले दिएको आशिर्वादस्वरूपको गरिब सही भरपूर आफ्नोपनले भरिएको हराभरा गृहस्थी बिगार्नु भनेको जिन्दगीकै ठुलो चिट्ठा हातबाट गुमाउनु हो । किनकी भाग्यले निकै कन्जुस्याई गर्छ र एकाध पटकमात्रै दैलो चिहाउछ । सबैले सोचौँ, धैर्य र संयम सिकौँ । आजको बाध्यात्मक आवस्यकता वैदेशिक रोजगारीको बहानामा केहीथोक पाएर सबैथोक गुमाउने गल्ती नगरौँ ।
लेखक: दीप्स शाह
deepssanu@gmail.com
साभार Nepalese

No comments:
Post a Comment