Sunday, July 27

खांचो ब्यवहारीक शिक्षाको

राजन पनेरु

          शिक्षा मानव जीवनको उज्यालो घाम हो । शिक्षले नै मानिसलाई सबल र सक्षम बनाउँछ । तर त्यही शिक्षा मानब जीवन उपयोगी भएन भने भबिष्य अन्धकार र अन्योलपूर्ण बनाउँछ । नेपालको सन्दर्भमा हेर्ने हो भने शिक्षा प्रणाली आधुनिक बन्न सकीरहेको छैन, परम्परागत शैलीमा नै घोकन्ते शिक्षा संञ्चालन भइरहेको छ । खासगरी शिक्षा ब्यवहारीक र सैद्धान्तीक दुई प्रणलीका हुन्छन् । ब्यवहारीक शिक्षाले सिप र क्षमताको बिकास गराई आत्मनिर्भर र स्वाभलम्बी बनाउँछ भने सैद्धान्तिक शिक्षाले सिद्धान्त मात्र घोकाई कागजी प्रमाणपत्र मात्र दिन्छ ।
            आधुनिक विश्वमा बैज्ञानिक र प्रयोगात्मक शिक्षा प्रणालीको विकास भइसक्यो तर नेपालमा भने पुरानै शिक्षा प्रणली विद्यमान छ । हुन त केही प्राबिधिक शिक्षालयहरुले प्रयोगात्मक एवम् ब्यवहारीक शिक्षा प्रणालीलाई अगाडी बढाएका छन्, जसले कतिपयलाई आत्म निर्भर सबल र सक्षम पनि बनाएको छ । तर त्यस्ता शिक्षालयहरु नेपालमा अत्यन्त कम संख्यामा छन् । भएकाहरुमा पनि पढाइ महंगो र खर्चिलो छ  । साधारण ब्यक्तिको पहुँच पुग्न सकेको छैन । अधिकांश शिक्षालयहरुमा सैद्धान्तिक शिक्षा प्रणाली नै छ, जहाँ घोकन्ते शिक्षालाई नै प्राथमिकता दिईएको छ । जसमा बिद्यार्थीहरुको क्षमता केही घण्टाको परीक्षा प्रणालीबाट मापन गरिन्छ । बर्षभरी मेहनत गरि पढेर परीक्षा दिने बिद्यार्थी र चिट चोरेर परीक्षा दिने बिद्यार्थीको समान मुल्याङ्कन गरिन्छ । फलस्वरुप, तीन महिने मोबाइल बनाउने तालीम लिएको ब्यक्तिले मोबाइल बनाउने पसल थापेर आफ्नो ब्यवसाय सञ्चालन गर्न सक्छ तर १७ बर्ष सम्म पढेर डिग्री हासिल गरेको ब्यक्तिको हातमा कुनै सिप नभएर प्रमाणपत्र मात्रै हुन्छ । 


             नेपालमा बर्षेनी लाखौं शैक्षिक बेरोजगार उत्पादन भईरहेका छन् । कलेज तथा विश्व शिक्षालयहरु बेरोजगार उत्पादन  गर्ने अखडा बनेका छन् । अनि, देश झन् झन् गरिब बन्दै गईरहेको छ । पढेलेखेका मान्छे कृषि कार्यमा हात हाल्न डराउने अनि अधीकांश मान्छेहरु पढाईको कागजी प्रमाणपत्र दराजमा थन्क्याएर मजदुरी गर्न विदेशतिर पलायन भएका छन् । अस्थिर राजनीतिको कुप्रभाबको कारणले गर्दा नीति निर्माण तहमा सक्षम ब्यक्ति पुग्न सकिरहेका छैनन् । त्यसैले शिक्षा प्रणाली सुधारिन सकेको छैन । बिद्यार्थीहरुको नाममा राजनीति गर्नेहरुको पनि शिक्षा प्रणालीमा सुधार गर्नेतर्फ ध्यान जान सकेको छैन । अर्कोतर्फ, राजनैतिक दलहरुले आफ्नो घोषणा पत्रमा शिक्षामा सुधार ल्याउने जनाएपनि कागजमा मात्र सिमित छ ।

         त्यसैले, अहिलेको सैद्धान्तिक शिक्षा प्रणाली खारेज गरि नयाँ र  बैज्ञानिक ढङ्गले आधुनिक तथा ब्यवहारिक शिक्षा प्रणाली ल्याउन सकेमा मात्र पढाइको खास महत्व हुनेछ । बिद्यार्थीहरुलाई पनि कसरी लेखेर धेरै अंक ल्याउने भन्दा पनि कसरी राम्रो सिप सिकेर आत्मनिर्भर बन्ने भन्नेमा शिक्षाले ध्यान बढाउन सक्नेछ । नेपालका कलेज तथा बिश्व बिद्यालयहरु पनि दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्र बनेर देश बिकासमा सहयोगी बन्नेछ । शिक्षित बेरोजगार भन्दा दक्ष जनशक्ति उत्पादन हुनेछन् । तसर्थ बैज्ञानिक र ब्यवहारिक शिक्षाको यो आवश्यकतालाई बुझ्न ढिला भइसकेको छ ।।

No comments: