Wednesday, February 11

यार ! केजरीवाल, कसरी गर्‍यौ यस्तो कमाल ?

'दिल्लीमा बाढी आयो, अब काठमाडौंमा भ्यागुता कराउँछन्'

डम्बर खतिवडा


डम्बर खतिवडा
सन्दर्भ भारतको राजधानी प्रदेश दिल्ली विधानसभा निर्वाचनको हो । तर, कुरा आफ्नै अनुभूतिबाट थाल्न चाहन्छु । वि.स. ०६५ सालको अन्त्यतिर हामी केही साथीहरुले मिलेर ‘वैकल्पिक विचार मञ्च’ नामको एउटा लुज ‘डिबेटिङ्ग क्लब’ बनायौं । त्यो कुनै एनजीओ थिएन, हैन । एनजिओको रुपमा अहिले पनि त्यो दर्ता छैन ।
सन् १९९० पछिको विश्व परिस्थिति, दार्शनिक, वैचारिक, राजनीतिक तथा आर्थिक संकटले हामीलाई चिन्तित बनाउँथ्यो । तिनै विषयमा हामी घण्टौं छलफल गर्थ्यौं । हाम्रा बुझाइहरु नेपालका सबै परम्परागत राजनीतिक शक्तिका बुझाइभन्दा फरकजस्ता हुन्थे ।
त्यतिखेर भारतमा अन्ना हजारेको आन्दोलन शुरुवात नै भएको थिएन । अरविन्द केजरीवालको आम आदमी पार्टी बन्ने त झन कुनै संकेत थिएन । इटालीको ‘फाइभ स्टार मुभमेन्ट’ अलिअलि चर्चामा थियो । हाम्रो अध्ययनको स्रोत मूलतः ल्याटिन अमेरिकामा थियो । विशेषतः ब्राजिलमा लुला, भेनेजुवेलामा चाभेज र बोलिभियामा मोरालेजको उदय कसरी सम्भव भयो भनेर हामी गुगलमा घण्टौं सामाग्रीहरु खोजिरहन्थ्यौं । मानव चिन्तन र चेतना कतातिर ‘सिफ्ट’ भइरहेको छ भनेर केही निष्कर्ष निकाल्न खोज्थ्यौं ।


पाँच निष्कर्ष: 
हामीले निकालेका मुख्य ५ निष्कर्षहरु यस्ता थिए-
एक- विज्ञानमा क्वान्टम भौतिकीको विकासपछि दर्शनशास्त्रमा ‘प्रकृति’ र ‘परमात्मा’, ‘पदार्थ’ र ‘चेतना’ बीचको विभेद समाप्त भएको छ । विज्ञानमा स्टेफेन हकिन्स र आध्यात्ममा रजनीशले गरेका योगदानको निष्कर्ष एउटै हो । तसर्थ भौतिकवाद र आध्यात्मवाद फरक हो भन्ने बुझाइबाट बनेका चिन्तनहरुको अबको युगमा कुनै काम छैन ।
बीसौं शताब्दीसम्मको वैचारिक संस्थापन विशेषतः पुँजीवाद, साम्यवाद र प्रजातान्त्रिक समाजवाद, यी ३ वटै दर्शन असान्दर्भिक भइसकेका छन । सन् १९९० को परिवर्तन सामान्यरुपमा सोभियत संघको पतन वा शताब्दिको परिवर्तन मात्र हैन, त्यो ‘मिलेनियम चेञ्ज’ को लक्षण हो त्यसका संकेतहरु अझ बढी गहिरा छन् ।
दुई-हिंसाको अभ्यासबाट हुर्किएका शक्तिहरुले लोकतन्त्र धान्न सक्दैननन् । लोकतन्त्र धान्न सहिष्णुता, मर्यादा, विपक्षलाई मित्र मान्न सक्ने विशेष प्रकारको भावधारा र रचनात्मक मनोविज्ञान चाहिन्छ । हिंसाबाट आएका शक्तिहरुमा ध्वंस र प्रतिशोधको भावना बलियो हुन्छ । तिनीहरुले आफैभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास गर्न सक्दैनन् । समाज र राज्यमा पनि लोकतन्त्रको राम्रो अभ्यास गराउन सक्दैनन् ।
तीन-एक्काइशौं शताब्दीमा सामाजिक सन्तुलनको आधार उदात्त स्वतन्त्रता, सहभागितामूलक लोकतन्त्र, विकास, पारदर्शिता, सुशासन, सम्वृद्धि, खुशी, सुखी र सम्मानजक मानवीय जीवन हो । यसका लागि राज्यसँग प्रभावकारी सेवा सुविधा प्रदान गर्ने क्षमता हुनुपर्छ ।
कुनै समय नेपालका कम्युनिष्टलाई ‘मस्कोमा पानी पर्दा काठमाण्डौंमा छाता ओड्ने’हरु भनिन्थ्यो । नेपालमा ‘नयाँ शक्ति’ को बहस गर्नेहरु पनि ‘दिल्लीमा पानी पर्दा काठमाण्डौंमा छाता ओड्ने’ जस्तै भए ।
परम्परागत राजनीतिक शक्तिहरुले यी शब्दहरु सुनेका हुन्छन् । तर, यिनीहरुको वास्तविक मर्म बुझेका हुँदैनन् वा चाहेर पनि उनीहरुको परम्परागत संगठन, संरचना र संस्कृतिले नयाँ मुद्दाको महत्वलाई बुझ्न दिँदैन वा बुझे पनि कार्यान्वयन गर्ने वातावरणको निर्माण गर्न उनीहरुले सक्दैनन् ।
चार­- केही देशहरु, जस्तै चीन, अमेरिका र बेलायतबाहेक संसारका अरु सबै देशमा सन् १९९० यता निरन्तर नयाँ आन्दोलन र पार्टीहरुको जन्म भइरहेको छ ।
‘प्रतिनिधिमूलक लोकतन्त्र’ को अन्तिम परिणाम ‘पोलिटिकल एलिट’हरुको जमात सिर्जना गर्नु हो, जसले सर्वसाधारणलाई धन, शक्ति, पहुँच र आत्मसम्मानबाट ‘आइसोलेसन’ मा राख्छ र ‘नेतातन्त्र’ सिर्जना गर्छ । ‘लोकतन्त्र’ को अपेक्षा ‘दलतन्त्र’ र ‘नेतातन्त्र’ बीचको दूरी पूरा गर्न लोकतन्त्रको सघनीकरण, विस्तारीकरण र मूर्तिकरण गर्ने आन्दोलन गर्न जरुरी छ । यो आन्दोलन बढाउने एउटा उपाय नयाँ शक्तिको जन्म पनि हो ।
पाँच- नेपालमा सबै शक्तिको जन्म हिंसाको जगमा भएको छ । कांग्रेस राणाशासन विरोधी हिंसाको परिणाम हो । एमाले झापा विद्रोहको परिणाम हो । माओवादी जनयुद्धको परिणाम हो । राप्रपा वा राप्रपा नेपाल परम्परागत राज्य हिंसाको परिणाम हो । तसर्थ यी सबै दलहरु आन्तरिकरुपमा लोकतान्त्रिक भएनन् । विरोधीहरुप्रति सहिष्णु पनि रहेनन् । कुण्ठा, अहम् र प्रतिशोधको मनोवृत्तिबाट चले ।
तसर्थ नेपालमा विना हिंसा नीति, योजना, कार्यक्रम र छलफलकै माध्यमबाट नयाँ शक्तिको जन्म गराउन सकेमात्र त्यसले लोकतन्त्रको मर्म र धर्मलाई धान्न सक्ने छ ।
दक्षिण एशियामा पनि सम्भव
यस्तो निष्कर्षपछि म नाम लिन चाहन्न, तर यो देशका करिब एक सयजति नाम चलेका मान्छेहरुसँग भेटघाट र छलफल गर्‍यौं । अधिकांशको भनाइ एउटै थियो, ‘त्यो अन्यत्र सम्भव होला, दक्षिण एशियामा सम्भव छैन । नेपालमा त झनै सम्भव छैन । त्यसको प्रमाण उहिल्यै देवेन्द्रराज पाण्डे र टंक कार्कीले लोक दल खोलेर गरिसकेका छन् ।’
उनीहरुका तर्क के थिए भने दक्षिण एशिया पिछडिएको चिन्तन, सामाजिक हाइर्यार्की र पुरातनपन्थी सोचले जरा गाडेको क्षेत्र हो । यहाँका मानिसहरु आधुनिकता बुझ्दैनन् । धन, पद र हिंसाभन्दा बाहिर ज्ञानमा पनि शक्ति हुन्छ भन्ने विश्वास नै गर्दैनन् ।
तर, भारतमा अरविन्द केजरीवालले यो सम्भव गर्दिएका छन् । पाकिस्तानमा पनि पूर्व क्रिकेटर इमरान खानको पार्टी बहुतै शक्तिशाली भएर आइरहेको छ । यही तरिकाले उसले विकास गर्दै गएमा आउने चुनावमा उसको उदय हुने सम्भावना छ । दिल्लीमा विल्कुलै नयाँ धारको पार्टी ‘आप’ को उदयले ‘पोष्टमोर्डनिष्ट’ चिन्तनका लागि दक्षिण एशियामा कुनै ठाउँ छैन भन्ने प्रमाणित हुँदैन ।
कस्तो प्रदेश हो दिल्ली ?
सन् १९११ मा दिल्ली सार्नुअघि भारतको राजधानी कोलकातामा थियो । कोलकाता भारतको सुदुरपूर्वी शहर हो । दिल्ली भने भारतको मध्यउत्तरमा पर्दछ । अंग्रेजहरुले समग्र भारतको शासन गर्न कोलकाताभन्दा दिल्लीबाट सजिलो हुने ठानी राजधानी सार्ने निर्णय सन् १९११ डिसेम्बर २६ मा घोषणा गरिएको थियो ।
दिल्लीमा बाढी सुक्यो, काठमाण्डौंमा टर्टराउने भ्यागुताहरु बन्द भए । यसपालि त दिल्लीमा झन ठूलो बाढी आएको छ । संभवतः काठमाण्डौंमा भ्यागुताको स्वर झन ठूलो हुनेछ ।
त्यतिखेर दिल्ली ४३.७ वर्ग किलोमिटर क्षेत्रफल र करिब २५ लाख जनसंख्या भएको शहर थियो । राजा जर्ज प्रथमले नयाँ दिल्ली निर्माणको शिलन्यास गरेका थिए । सन् १९३१ मा मात्र नयाँ दिल्लीको निर्माण कार्य पूरा भयो र पूर्णरुपमा राजधानी सारियो । स्वतन्त्रतापछि पनि भारतले राजधानी दिल्लीमै राख्ने निर्णय गर्‍यो ।
सन् १९९१ मा भएको भारतीय संविधानको ६९ औं संशोधनले ‘टेरिटोरियल रिजन’ बनाउन सकिने प्रावधान पास गर्‍यो । यसै मुताविक सन् १९९३ मा दिल्ली प्रदेशको स्थापना गरिएको छ । शुरुवातमा यसमा उत्तरप्रदेश, हरियाणा र राजस्थानबाट काटेर लिएका ९ जिल्लाहरु समावेश गरिएका थिए । अहिले भने दिल्लीमा २० जिल्ला छन ।
नयाँ दिल्ली मुम्बईपछि भारतको दोस्रो ठूलो शहर हो । दिल्ली महानगरको क्षेत्रफल १४४८ वर्ग किलोमिटर छ भने कुल प्रदेशको क्षेत्रफल ५१, १०९ वर्गकिलोमिटर छ । महानगरमा मात्र १ करोड १० लाख जनसंख्या छ । प्रदेशको कुल जनसंख्या हाल करिब २ करोड, ५० लाख छ ।
करिब नेपाल बराबर दिल्लीको जनसंख्या छ । तर, क्षेत्रफलमा भने नेपालको क्षेत्रफलभन्दा करिब एकतिहाइ मात्र छ ।
यहाँनेर एउटा कुरा विचारणीय छ, करिब यति नै जनसंख्याका लागि नेपालमा ६०१ को संसद भने दिल्ली विधानसभामा भने ७० सीट मात्र छन् । यसपालिको विधानसभा निर्वाचनमा करिब १ करोड ३३ लाख मतदाता रहेका थिए ।
‘नयाँ शक्ति’ को बहस:
यस अघिको दिल्ली निर्वाचनमा आम आदमी पार्टी २८ सीट प्राप्त गरेको दोस्रो पार्टी थियो । अरविन्दले ४९ दिन मुख्य मन्त्रीको पद सम्हालेर छोडेका थिए । नेपालमा पनि ‘नयाँ शक्ति’ को बहस जोडतोडले भयो । एमाओवादी नेता डा. बाबुराम भटट्राईले नै ‘नयाँ शक्ति’ नारा दिए ।
केही गर्ने हुन कि त भन्ने आशामा हामीले ‘वैकल्पिक विचार मञ्च’ कै ब्यानरमा इटहरीमा डा. भटट्राईको एउटा अन्तक्रिर्या कार्यक्रम पनि राख्यौं । निक्कै चर्चित भयो त्यो कार्यक्रम । तर, कुरो बुझ्दै जाँदा डा. भटट्राईले यस्ता कार्यक्रमलाई आफ्नै पार्टीभित्रको संस्थापनमाथि दबाव बढाउने अस्त्रका रुपमा मात्र प्रयोग गर्न खोजेको देखियो ।
कुनै समय नेपालका कम्युनिष्टहरुलाई ‘मस्कोमा पानी पर्दा काठमाण्डौंमा छाता ओड्ने’हरु भनिन्थ्यो । नेपालमा ‘नयाँ शक्ति’ को बहस गर्नेहरु पनि ‘दिल्लीमा पानी पर्दा काठमाण्डौंमा छाता ओड्ने’ जस्तै भए ।
दिल्लीमा बाढी सुक्यो, काठमाण्डौंमा टर्टराउने भ्यागुताहरु बन्द भए । यसपालि त दिल्लीमा झन ठूलो बाढी आएको छ । संभवतः काठमाण्डौंमा भ्यागुताको स्वर झन ठूलो हुनेछ ।
मध्यम वर्ग कि सर्वहारा ?
केही विश्लेषकहरु छन् नेपालमा- उनीहरु अन्ना हजारेको आन्दोलन र आम आदमी पार्टीले दिएको राजनीतिक विकल्पलाई ‘असन्तुष्ट मध्यम वर्गको उपज’ ठान्दछन् । हजारे र केजरीवालको क्रान्ति सर्वहारा वर्गीय छैन, मार्क्र्सवादी लेनिनवादी छैन, त्यसैले यसको खासै महत्व छैन भन्ने हुन्छ उनीहरुको तर्क ।
निश्चिय नै यो मध्यम वर्गीय आन्दोलन नै हो । तर, विपन्न वर्गको पनि ठूलो समर्थन छ यसलाई । यो एकप्रकारको क्रान्ति नै हो, परम्परागत क्रान्तिभन्दा बिल्कुलै फरक प्रकारको क्रान्ति, पोष्टमोर्डनिष्ट टाइपको राजनीतिक क्रान्ति । नेपालमा पनि मध्यम वर्ग छ । तर, नपुंशकजस्तो भएर सबै कुरा टुलुटुलु रमिता हेरेर बसेको छ ।
नेपालको मध्यम वर्ग बिल्कुलै ‘क्यारियरिष्ट’ छ । तथाकथित रुपमा ऊ आफूलाई ‘सर्वहारा आन्दोलन’ संग जोड्न चाहन्छ । अबको युगमा मध्यम वर्गले नै नेतृत्व गर्ने हो । तर, ‘क्यारियरिष्ट’ को साटो ‘स्पि्रचुअल’ मध्यम वर्ग विकास गर्न सक्नुपर्छ । ‘क्यारियरिष्ट’ मध्यम वर्ग ‘बुर्जुवा बर्ग’ भन्दा बढी अवसरवादी र धोकेवाज हुन्छ । संभवतः केजरीवालको एउटा अभ्यास ‘स्प्रिचुअल मिडिल क्लास’ को राजनीतिक उपयोग गर्नु पनि हो ।
माओवादी-मधेसवादी नेपालका ‘नयाँ शक्ति’ ?
केही मान्छेहरु ठान्छन् कि माओवादी-मधेसवादी नै नेपालका ‘नयाँ शक्ति’ हुन्, अर्को नयाँ शक्ति किन चाहियो ? बिल्कुलै नासमझ र असम्भव दृष्टिकोण हो यो । यही दृष्टिकोणका आधारमा नेपालमा नयाँ शक्तिको बहसलाई रोक्न खोजियो भने सम्भवतः त्यो कांग्रेस-एमालेका लागि निक्कै हितकर हुनेछ ।
यो मान्न सकिन्छ कि कांग्रेस-एमालेका भन्दा माओवादी-मधेसवादीका कतिपय एजेण्डाहरु प्रगतिशील थिए । जस्तो संघीयता, गणतन्त्र, समावेशीकरण आदि । तर, यति नै कारणले आजको लोकतान्त्रिक राजनीतिको आवश्यकता धानिँदैन । लोकतान्त्रिक सहिष्णुता, पारदर्शिता र नैतिक जीवन पद्दति त यी आन्दोलनहरुमा पिटिक्कै छैन भने पनि हुन्छ ।
तत्काललाई कांग्रेस-एमालेका कतिपय दक्षिणपन्थी विचलन रोक्न नेपाली जनताका लागि यी शक्ति केही मात्रामा उपयोगी छन् । तर, यिनीहरु नै आधुनिक सम्वृद्ध लोकतान्त्रिक नेपालको विकल्प शक्ति हुन् भन्ने आशा गर्नु त हाम्रो एक प्रकारको मूर्खता नै हुनेछ ।
कांग्रेस-एमाले
भारतका कांग्रेस/कम्युनिष्ट र नेपालका कांग्रेस/एमाले बीच कुनै आधारभूत भिन्न्नता छैन । गान्धी-नेहरुको विरासत बोकेको पार्टी त धुलीसात हुन सक्छ भने यिनीहरुसँग कुन त्यत्रो विरासत छ ?
पहिलो कुरा त अबको युग विरासतले चल्ने युग नै हैन । परस्पर सम्मान, कार्यक्षमता, सृजनशील चिन्तन, रचनात्मक अहम् र समन्वयात्मक क्षमता, समग्रमा भन्दा ‘व्यवस्थापकीय शासन’ (म्यानेजरियल रुल) को युग हो यो ।
राजनीतिमा दर्शन, संगठन र जनपरिचालनसँगै ‘व्यवस्थापकीय शासन’ को क्षमता पनि थपियो भने मात्र अबको राजनीति सफल हुन सक्छ ।
कांग्रेस सधैं धर्मराएको तर ढल्ल नसकेको रुखजस्तो छ नेपालमा । न सिद्धान्तको बहस, न बलियो संगठन, न संगठनभित्र प्रभावकारी लोकतन्त्र, न पारदर्शी आर्थिक प्रणाली र नैतिक जीवन पद्धतिमा ढालिएको पार्टी पंक्ति । एमाले त झन ब्यानरमा कम्युनिष्ट, सिद्धान्तमा प्रजातान्त्रिक समाजवादी र व्यवहारमा नवउदारवादी दल न हो । यतिको ‘क्यारियरिष्ट मिडिल क्लास’ को पार्टी संसारमा बिरलै हुन्छ ।
अरविन्दका भगवानः
अरविन्द केजरीवाल भौतिकवादी विकास र आध्यत्मवादी जीवनशैलीमा विश्वास गर्ने मान्छे हुन् । उनी अधिकांशतः भन्छन् ‘जसको कोही हुँदैन, उसका साथमा भगवान हुन्छ ।’
दिल्ली विधानसभा निर्वाचनमा मतदान सम्पन्न भएपश्चात् अर्थात् फेब्रुअरी ७ तारिख साँझ उनले ट्वीट गरेका थिए – हामीले आफ्नो कर्म पूर्ण निष्ठाका साथ सम्पन्न गर्‍यौं । फल त भगवानले दिने हो, जस्तो दिउन्, स्वीकार्य छ ।’ संभवतः उनका भगवान (दिल्लीका जनता) ले उनको अपीललाई न्याय गरेका छन् ।
अब उनको पालो हो- भगवानप्रति न्याय गर्ने । हेरौं कतिको गर्न सक्छन् ।
जाँदाजाँदै अरविन्दसँग एउटा प्रश्न गर्न मन लागेको छ- यार ! केजरीवाल, कसरी गर्‍यौ यस्तो कमाल ? जो कि संसारमा अझै पनि धेरै मान्छे असम्भव ठान्छन् ।
२०७१ माघ २८ गते १३:५४ मा प्रकाशित
-इटहरी, सुनसरी

स्राेत onlinekhabar.com

No comments: