गोरखा, २२ माघ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम
भट्टराईले कांग्रेस–एमालेले संख्याको दम्भ प्रदर्शन गरे इतिहास दोहोरिने
चेतावनी दिनुभएको छ । गोरखा सदरमुकाममा भएको पत्रकार भेटघाटमा नेता
भट्टराईले भन्नुभयो – ‘कांग्रेस–एमालेको अनुकुल संविधान २०४७ सालमा बनेकै
हो । उनीहरु अहिले दुईतिहाई भन्छन् त्यतिबेला शतप्रतिशत थियो, सबै एक ठाउँ
थिए । तर के भयो ? जनताको आँधिबेहरीले बढारिएर आउनुपर्यो । अहिले पनि दम्भ
प्रदर्शन गर्छन् भने इतिहास फेरि दोहोरिन्छ, बाँकी इतिहासले बताउँछ ।
अहिलेको मूल समस्या सत्य र शक्तिको असन्तुलनले सिर्जना गरेको उहाँको भनाई छ
। ‘सत्य हामीसँग छ तर हामीसँग शक्ति भएन । त्यसैले शक्ति दिनुपर्यो भनेर
शक्ति आर्जन गर्न जनतासामु आएका हौं’, नेता भट्टराईले भन्नुभयो । ‘२०४७ सालको परिवर्तनले बहुदलीय प्रतिस्पर्धा, विधिको शासन, आवधिक निर्वाचन जस्ता लोकतन्त्रका सार्वभौम मान्यता रहेको नवउदारवादी लोकतन्त्रलाई स्थापित गरेको उल्लेख गर्दै नेता भट्टराईले भन्नुभयो – ‘त्यसलाई त हामीले पनि मान्यौं तर हामी के कुरामा असहमत भयौं भने – नेपालको सन्दर्भमा त्यस्तो औपचारिक नवउदारवादी लोकतन्त्रले मात्रै पुग्दैन । नेपाल वर्गीय रुपमा पनि ठूलो विभेद भएको ठाउँ हो । राष्ट्रियताको हिसाबले पनि आर्य–खस, तिब्बती–बर्मेली र मैदानी आर्य–अनार्य (मधेशी) गरेर तीनवटा मुख्य समूहमा विभाजित छ ।’ एउटा आर्य–खस जातिले मात्रै राज्यसत्ताको ८० प्रतिशत निकाय ओगटेको र दुई तिहाई जनता राज्यसत्ताबाट वञ्चित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘त्यसैले त्यो औपचारिक नवउदारवादी लोकतन्त्रले मात्रै पुग्दैन । यहाँ समावेशी समानुपातिक लोकतन्त्र चाहिन्छ भनेर हामीले ४० सुत्रीय माग प्रस्तुत गर्दादेखि नै विद्रोह सुरु गर्यौं । त्यसैको क्रममा नै संविधानसभा आयो । हिजोको नवउदारवादी लोकतन्त्रलाई लाहाछाप लगाउन संविधानसभा चाहिएको होइन । संविधानसभा चाहिएको त समावेशी समानुपातिक लोकतन्त्रलाई संस्थागत गर्नका लागि हो । त्यसैले वैचारिक लडाईं यहाँ परेको हो ।’
‘जनयुद्धको क्रममा पहिलो र दोस्रो वार्ताकालमा संविधानसभा अस्वीकार गर्ने पनि कांग्रेस–एमाले नै थिए अनि पछि ज्ञानेन्द्रले फ्याँकिदिएपछि मिल्न आएका न हुन् । अनि उनीहरुले जे भन्यो त्यही हुन्छ ? एजेण्डा तय गर्ने क्रान्ति र आन्दोलनले हो, त्यसलाई संस्थागत गर्ने औपचारिक विधिमात्रै संविधानसभा हो’, हिजो संविधानसभा माग गर्दा माओवादी नेताका टाउकोको मूल्य तोक्नेहरु कांग्रेस–एमाले नै रहेको उल्लेख गर्दै नेता भट्टराईले भन्नुभयो – ‘वाध्य भएर संविधानसभा ल्याइसकेपछि चाहिँ २०४७ सालको उही नवउदारवादी लोकतन्त्र लागू गर्छु भन्नु त आन्दोलनप्रति, सहमति–सम्झौताप्रति धोका भयो ।’
नदीका किनारालाई पानीले जोडेजस्तो जोड्नसक्छ
पत्रकारहरुको प्रश्नका क्रममा नेता भट्टराईले एनेकपा माओवादी र राप्रपा नेपाल नदीका दुई किनाराजस्तो मिल्न नसक्ने राजनीतिक शक्ति भएको बताउँदै पानीले नदीका दुई किनारा जोडेजस्तो केहीले जोड्न पनि सक्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘राजनीतिक हिसाबले राप्रपा नेपाल र एनेकपा माओवादी नदीका दुई किनारा हुन् । ती समानान्तर ढंगले जाने किनारा हुन्, भेटिने किनारा होइनन् । तर नदीको दुई किनाराको बीचमा पानी हुन्छ । पानीले तिनलाई जोडिराख्या पनि हुन्छ । त्यसैले राप्रपा नेपाल र हामी सैद्धान्तिक रुपले मिल्नै नसक्ने भए पनि कतिपय प्रक्रियागत कुरामा चाहिँ पानीले जोडेजस्तो जोड्न पनि सक्छ ।’
कांग्रेस–एमालेको लोकतन्त्र ‘नकचरो’
नेता भट्टराईले कांग्रेस–एमालेको लोकतन्त्र नकचरो लोकतन्त्र भएको टिप्पणि पनि गर्नुभयो । प्रक्रियाका सन्दर्भमा कांग्रेस र एमालेले दोधारे नीति अपनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘एकापट्टि सहमति–सम्झौताले नै निर्णय गर्ने भन्ने कुरालाई तोडेर एकतर्फी प्रश्नावली निर्माण गर्न समिति बनाएर हाम्रो विरुद्धमा गएका छन् । अर्कोतर्फ प्रश्नावली समिति प्रश्न पनि म नै बनाउँछु र भोट पनि मलाई नै हाल भन्छ । गाई परे पनि मेरै, त्रिशुल परे पनि मेरै भनेर गाई/त्रिशुल गरेजस्तो कांग्रेस–एमालेको लोकतन्त्र बढो चकचरो लोकतन्त्र भयो ।’
प्रश्नावली बनाउने समितिको बैठकको सन्दर्भमा नेता भट्टराईले भन्नुभयो – ‘राप्रपा नेपाल वैचारिक रुपले फरक भए पनि प्रश्न त बनाउन पाउनुपर्यो नि । प्रश्न नै बनाउन दिन्नँ भन्छन् कांग्रेस–एमाले । हामीले प्रश्नावलीको तरिकै बेठीक छ, संवाद र सहमतिको प्रक्रियाबाट जाउँ भन्दा भोटिङ गरेर जाउँ भने र राप्रपा नेपाल पनि त्यतापट्टि लागे अहिले प्रश्न नै बनाउन नदिने हास्यास्पद कुरा गरिएको छ । वैचारिक असहमति हुँदा–हुँदै पनि प्रक्रियागत ढंगले राप्रपा नेपालले उठाएको कुरा विचारणीय नै छ ।’
संविधानसभा बैठक बहिष्कार – संघर्षको रुप
एमाओवादी नेतृत्वको मोर्चाले संविधानसभा र संविधानसभाका समितिहरुको बैठक बहिष्कार संघर्षको रुपमा निश्चित समयका लागि गरेको नेता भट्टराईले बताउनुभयो । ‘संविधानसभाको अनुभवमा पहिलो चोटी सभाध्यक्षले परामर्श समितिको बैठक नबोलाइकन र संविधानसभाका ३१ दलमध्ये १९ दलले नाराबाजी गर्दागर्दै निर्णय गरेर संविधानसभा अपहरण गर्ने र जनताको विपक्षमा उभ्याउने स्थिति ल्याइयो त्यसको विरोधस्वरुप संविधानसभा र संविधानसभाका समितिहरुको बैठक बहिष्कार गरेका हौं । सधैंका लागि पनि होइन, संघर्षको विविध स्वरुपमध्ये फागुन १६ गतेसम्मका लागि बैठक बहिष्कार गर्ने भनिएको हो’, उहाँले भन्नुभयो – ‘माघ ११ गते जसरी प्रक्रिया ‘डिरेल’ भएको छ त्यसलाई फेरि ‘लिक’मा ल्याउनुपर्यो । त्यसो भएदेखि हामी संविधानसभामा सहभागी भएर अगाडि बढ्न तयार छौं ।’
ओली बोलेपछि कांग्रेसको बोली फुट्दैन
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहनुभएका भट्टराईले संवाद समितिको २९ गतेको बैठकमा त्यसै दिन प्रमुख दलहरुको बैठकमा भएको समझदारीको भावना विपरित गएर कांग्रेस–एमालेले प्रस्ताव पारित हुन नदिएको बताउनुभयो । ‘पुस २९ गते न्यायप्रणाली र नागरिकतासम्बन्धी प्रस्तावमा पहिले सहमति जनाए तर पछि लिखित प्रस्ताव संवाद समितिमा पेश गर्दा एमालेले ‘हुँदैन’ भन्यो । एमालेले भनेपछि त कांग्रेस पछि लागिहाल्छ अहिले’, उहाँले भन्नुभयो – ‘के छ कुन्नी, मोहनी लगाएको छ कि जादू गरेको छ, केपी ओली बोलेपछि कांग्रेसको त बोली नै फुट्दैन ।’
फरक सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नमा नेता भट्टराईले भन्नुभयो – ‘नेपाली राजनीतिमा सबभन्दा छुद्र बचन प्रयोग गर्ने, अराजनीतिक भाषा प्रयोग गर्ने मान्छे को हो भनेर सोध्ने हो भने बच्चा–बच्चाले पनि भन्छन् केपी ओली भनेर । त्यसैले के चलाएर आफ्नै मुखमा छिटो भनेजस्तो उनको बारेमा टिप्पणि गर्न म चाहन्नँ ।’
नेता भट्टराई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बैठकका लागि गोरखा आउनुभएको हो । आज नै उक्त बैठकमार्फत एक करोड रकम छुट्टयाइएको निर्वाचन क्षेत्र पूर्वाधान विकासको कार्यक्रमहरु पारित हुनेछ । त्यसैगरी चेपाङहरुको लागि जनता आवास कार्यक्रमका बारेमा पनि बैठक बस्नेछ । गोरखा निर्वाचन क्षेत्र नं. १ का जनप्रतिनिधिसमेत रहनुभएका भट्टराईले गत साउनमा गोरखा फिनाममा पहिरोमा परेर मृत्यु भएका हिरामाया बयलकोटी, देउमायाँ श्रीमल र किरण श्रीमलको परिवारलाई सभासद्को तर्फबाट छोरा–छोरीको पढाइका लागि २०/२० हजार रुपैयाँ प्रदान गर्नुभयो । त्यसैगरी उहाँले गोरखा नारेश्वरमा रामबहादुर विकको घरमा आगलागीबाट क्षति भएकोमा जस्ताको छाना लगाउन आफ्नो तर्फबाट २० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभयो ।
नेता भट्टराई एमाओवादीले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तरगत बुढीगण्डकीदेखि महाकालीसम्मको ‘पश्चिम कमाण्ड’मा कार्यकर्ता प्रशिक्षण लगायतका कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । माघ २३ गते पोखराबाट सुरु हुने प्रशिक्षण कार्यक्रम बुटवल, नेपालगञ्ज, जुम्ला, डोल्पा, हुम्ला, रुकुम लगायतका स्थानमा पनि सञ्चालन हुनेछ । नेता भट्टराई फागुन १६ मा काठमाडौंमा हुने जनप्रदर्शनको कार्यक्रममा सहभागी हुने गरी काठमाडौं फर्कनुहुनेछ ।
समाचार स्राेत डा. बाबुराम भट्टराईकाे सचिबलाय

No comments:
Post a Comment