Saturday, December 20

काठमाडौंका डेरावाल


गजेन्द्र बोहरा
सेताेपाटिबाट साभार
'आज तेरोमा आउँछु है, मेरो कोठामा पानी नै आएन।'

काठमाडौंको माइक्रो। ठेलम ठेल।

'त्यो घरभेटीको फ्ल्याटमा मात्रै आउँछ के हाम्रोमा आन्न, लुगा नधो नि हप्ता बित्यो' माइक्रोभित्र शरीर अड्याउन एउटा हातले कता समाएकी थिई कुन्नी उसले? एउटा हातले मोबाइल कानमा च्यापेर उसले जवाफ दिंदै थिइ।


'भाडा मिलाउँदै गरम् है...' अगाडिको ट्राफिक देखेपछि खलासी कान्छोले ढोका लगाउँदै हकारेको पारामा भन्यो।

म एउटा सिटको टुप्पामा अडिएको थिएँ।

यसो मोबाइल खोलेर हेरेँ, एकजना साथीले लेखेको थियो, 'काठमाडौंमा कोठा पाउन बिहे गर्नुपर्ने रैछ।'

हेर्दै थिएँ कसैले कमेन्ट गरेको थियो 'काठमाडौंमा बरु बिहेका लागि केटालाई केटी, केटीलाई केटा सजिलै भेटिन्छन्, कोठा भेटिन्न।'

काठमाडौं किन 'सुविधा'को सहर हो, थाहा छैन। तर, आम मान्छेले यहाँ भोग्ने सास्ती एउटा विकट गाउँको सामान्य मान्छेले पनि भोग्नुपर्दैन।

त्यो, साथीको वालमा एउटा कमेन्ट हानौँ कि भन्ने सोचेँ तर, केही लेखिनँ।

मेरो व्यथा उसले पोखेछ, सक्किगो नि। मनमनै हाँसे।

दुई महिना बितिसक्यो, कोठा खोज्दैमा भौतारिएको।

उसको र मेरो अवस्था अलिकति मात्रै फरक छ, उसले बिहे गरेको छैन, मेरो बिहे भइसकेको छ, छोरो पनि छ।

तर, साथमा छैनन्, म एक्लै छु, काठमाडौंमा। ऊ बिहे नगरेर एक्लो, म बिहे गरेर पनि एक्लो।

समस्या त्यही हो, कोठा खोज्न जाँदा उसलाई बिहे गरेको छ कि छैन? भनेर सोध्छन्, उसले सटिक जवाफ दिन्छ 'छैन।' कुरा सक्किगो, घरभेटीले सिधै कोठा दिन्नन्।

मलाई सोध्छन् बिहे गरेको छ कि छैन? कोठा पाउने आशमा म छाती फुलाएर भन्छु 'छ नि, छोरो पनि छ।'

घरभेटी भन्छन् 'ठीक छ, राम्रो।'

'तर, यहाँ छैनन्, ल्याएको छैन।'

घरभेटी पूरै खुम्चिन्छ 'त्यसो भए, हुन्न।'

यै हो, डेरावालको सास्ती।

बिहेमात्रै गरेर हुने रै'नछ, काठमाडौंको डेरामा बस्नलाई स्वास्नी, छोराछोरी सब बोकेर ल्याउनुपर्ने।

लाइकमात्रै हानेको थिएँ। एउटा नोटिफिकेशन बज्यो।

हेरेँ कसैले त्यो पोष्टमा कमेन्ट लेखेको थियो 'त्यै घरभेटीको छोरी मागेर बिहे गरे त, सक्किगो नि।'

केही दिनअघि एउटा साथी भन्दै थियो, मोटर बिग्रेको चार महिना भइसक्यो, घरभेटीेले बनाइदिएका छैनन्, कोठामा पानी नै छैन।

बरु नयाँ कपडा किन्ने, सानातिना कपडा त कोठाभरि रास हुन्छ, धुने पानी भए पो। नुहाउन त कहिलेकाहीं 'पानीवाला' साथीकोमा बास बस्न गए भैगो।

त्यै हो भाग्यमानी डेरावाल काठमाडौंको, जसको घरभेटी त्यो घरमा बस्दैन, ट्वाइलेट बाथरुममा 'क्यू' हुँदैन। दुई दिन बिराए रातको २ बजे भएपनि धारामा पानी चुहिन्छ। जसको घरभेटीलाई कुनै महिना ३२गतेसम्म पनि हुन्छ, भन्ने राम्ररी थाहा हुन्छ। नत्र, त २९ गते साँझ नै घरभेटी ढोका ढकढकाउन आइपुग्छन्।

त्यो केटी कहाँनेर ओर्ली कुन्नी? उसले पानीको कुरा निकालेपछि मेरो दिमागमा डेरावालका कुरा नाच्न थालेका थिए।

......

'के गर्नुहुन्छ।'

'म काम गर्छु, पढ्छु पनि।'

'के काम गर्नुहुन्छ?' उसले के पढ्नुहुन्छ? कतिमा पढ्नुहुन्छ केही सोध्दैन।

'म पत्रकार हो।'

'काम नि के गर्नुहुन्छ भनेको।'

यस्तो प्रश्न सोध्ने काठमाडौंको घरभेटीलाई म कसरी सम्झाउँ?

फेरि दोहोर्‍याउँछु 'म पत्रकार हो?'

'कति कमाइ हुन्छ त?'

एकछिन त झनक्क रिस पनि उठ्छ, म के उसको छोरी माग्न गएको हुँ र? के सोधिरा'को, के गर्नुहुन्छ? कति कमाई हुन्छ?'

म सिधा जवाफ दिन्छु 'खान लाउन ठिक्क हुन्छ।'

'अनि भाडा नि, कोठा भाडा कसरी तिर्ने त?'

बल्ल घरभेटीले आफ्नो रुप देखाए।

के विवाद गर्नु, आफै मूर्ख बन्न ठीक लागेन। म फर्किएँ।

.....

'एउटा कोठा, भेटियो ६ हजार भाडा रे।'

एकजना साथीले फोनमा खबर सुनाउँदै थियो।

'अनि अरु के के छ, छ हजारमात्रै?'

'पानी, बिजुली, फोहोर फालेको पैसा छुट्टै लाग्छ, वर्षको १० पर्सेन्ट बढ्छ।'

'पानी कति आउँछ?'

'दुई दिनमा एकचोटी, भाँडामा भरेर राख्ने।'

'हुन्छ पछि कुरा गरौँला।'

मैले फोन राखेँ।

फेरि उसैको म्यासेज आयो '१२ बजेसम्म कन्फर्म गर्दिनु।'

किन १२ बजे कुर्नु? पौने दश बजेको थियो, मैले तु.रिप्लाई हान्दिएँँ 'भयो, चाहिन्न भन्देऊ।'

....

'काँ छौ कान्छा?'

फोन उठाउनासाथ श्रीमतीले सोधी। हुन म घरको जेठो छोरो हँु, ऊ कान्छी। त्यसैले उसलाई मलाई धेरैजसो कान्छा नै भन्छे।

'के छ त कान्छा जी, आज त हाम्रो विदा छ स्कूल नजाने'

फोन छोराले खोसिसकेको थियो। आफ्नी मम्मीले भनेको सुनेर छोरोले पनि मलाई यही भनेर जिस्काउँछ।

'हो, ठीकै छ आज कोठामा टिभी हेरेर, खेलेर बस्नु।'

'हुन्छ।' छोरोले फोन आफ्नो मम्मीलाई दिइसकेछ।

'घरभेटीले फोन गर्नुभाथ्यो, भाडा पठाइदिने रे।'

जिल्लामा पनि श्रीमती र छोरा डेरामै छन्। त्यहाँको डेरा भाडा नतिरेको तीन महिना बितिसकेछ।

मैले जवाफ दिनै भ्याएको थिइनँ, उसैले भनी 'बाबुको पनि बिल आछ, स्कूलबाट ७ हजार भारै'छ।'

'हुन्छ, हुन्छ राख म पठाइदिम्ला।'

ओर्लिने ठाउँ आइसकेको थियो। गाडी रुक्यो। २ ओटा ढ्याक, ३ रुप्पे फिर्ता आयो। ग्ाोजामा ८ रुपैँया भयो। पाँच रुप्पेको हल्स किनेपछि गोजीमा त्यै ३ रुप्पेको ढ्याक बच्यो।

...

भित्तामा 'टु लेट्' लेखेको पर्चा थियो, फोन नम्बर झट्पट् डायल गरेँ। अरु केही पढ्न लागिनँ।

'कोठाको लागि हो, के छ, केही उपाय छ?'

'यो कोठाको लागि होइन, अफिस, कम्प्लेक्सका लागि मात्रै हो त।'

फोन कट्यो। के का लागि 'टु लेट्' हो, त्यो हेरिन्न। कोठाकै आश हुन्छ। त्यसमा लेखिएको फोनमात्रै याद हुन्छ।

फोन हान्यो, कैले जग्गा ददालकहाँ फोन जान्छ, कैले गाडी खरिद बिक्रिका लागि। कोठाका लागि कमैमात्र।

कैले फ्ल्याटको मात्रै कुरा हुन्छ।

'१५ हजार, १६ हजार, २० हजार।' त्यो भन्दा मुनि त जवाफै आन्न।
....

'के गर्नुहुन्छ, काम? कति कोठा चाहियो?'

'पत्रकार हुँ, एउटा कोठा भए पुग्छ।'

'ओहो, पत्रकारलाई त हुन्न, फेरि एउटामात्रै होइन, फ्ल्याट नै लैजानुपर्छ।'

बल्लबल्ल यो 'टु लेट्'को चाहीँ आशा थियो। दुई लाइनकै कुरामा त्यो सकियो।

झोंक यत्ति चल्यो कि, 'फ्ल्याट होइन, तिम्रो घरको मूल्य कति हो, बेच्ने हो? अहिल्यै किन्दिन्छु।' भन्दिउँ कि जस्तो लागेथ्यो। तर, हैसियत त्यै ३ रुप्पेको दुई वटा ढ्याक नै हो।
.....
'अनि, कति जना बस्ने हो? जाँड रक्सी खाएर हो हल्ला गरिन्छ कि गरिन्न? साथीहरु कत्तिको आउँछन्?'

सबै कुरा उसले भनिसकेपछि मैले के जवाफ दिने? तै पनि बोलेँ 'एक्लै हो, त्यस्तो क्यै खाइन्न, साथीहरु त कहिलेकाही आइहाल्छन्, नि विदाको दिनमा हल्का रमाइलो त हुन्छ।'

जवाफ आएन, आवाज पनि आएन। यो अर्काे 'टु लेट्'मा कुरा यत्तिमात्रै भयो।

दिनभर अफिस यस्तैमा बित्यो, कोठा नपाएको टेन्सनले काममा त्यत्ति जम्न नि सकिएको छैन।

....

यो साँझ एउटा साथीकोमा जानु थियो। क्याम्पस सँगै पढेको। उसको कोठा डिल्लीबजार।

साँझपख पुगियो। साँघुरो गल्लीभित्रको एउटा पुराना स्टाइलको घर थियो। दोस्रो तल्लाको एउटा साँघुरो, अँध्यारो कोठा।

भित्र छिर्नै लाग्दा उसले भन्यो 'चप्पल भित्रै लिएर आऊ है, ढोकामा धेरै जुत्ता चप्पल देखे घरभेटी कराउँछ, धेरैलाई नल्याउनु भन्याछन्।'

'छोड्देऊ मुला यस्ता कोठा।'

'तिम्लाई के'था? काठमाडौंमा कोठा पाउन जत्ति गाह्रो छ, त्यो भन्दा टेन्सन त कोठा सार्नै हुन्छ।'

हो, नि मलाई सार्नको टेन्सन त अझै भएको छैन। कोठै पाइएको छैन।

...

'भाइले के गर्छाै काम?'

त्यो साथीले नै जवाफ दियो 'पत्रकार हौँ।'

'ठीकै छ, तर यहाँ केटामात्रै बस्न पाइन्न।'

'किन, केटाहरुलाई डेरा दिनुहुन्न र?' यसपालि त धेरै झोक चल्यो।

कोठा खोजिलाग्न गएको त्यो साथीले मलाई कोट्याउँदै थियो। म रुकिनँ।

'अरुले देलान् नि तर, मेरो घरमा जवान छोरी,बुहारी छन्, केटालाई मात्रै हुन्न।'

'अनि केटीलाई नि? केटीहरुलाई नि कोठा दिनुहुन्न?'

बुढी भित्रैबाट बोलिन् 'हुन्न, हुन्न केटीहरु पनि त केटाहरु लिएर आउँछन् नि कोठामा, हाम्रा छोरी बुहारी छन्।'

उसले जाउँ, भन्दै मलाई तान्यो।

...

गेट खोलर भित्र छिर्दै गर्दा कुन्नी कताबाट एकैपटक झम्टिन आइपुग्यो, एउटा हल्का रातो रंगको कुकुर।

टोक्ला झैँ गरेर त्यो एकछिन भुकिरह्यो।

मैले हातले थमथमाउन खोँजे चुप लागे पो।

विस्तारै भनेँ 'चुप् लाग् न मुला, तँभन्दा अलि उन्नत जातका हौँ।'

भित्र कसैले बोलाएको आवाज सुनेपछि, त्यो बल्ल चुप लाग्यो।

पूरै कम्पाउण्ड भएको, चाइनीज दुवोले छोपिएको आँगन। घर कुनै खानदानी मान्छेकै हो कि जस्तो लाग्थ्यो।

घरभेटी बाहिर आइनसक्दै मैले साथीलाई भनेँ, 'यो घरमा डेरा गर्ने, हाम्रो हैसियतले दिन्न, जाउँ।'

'पख न कुरा त गरौँ।'

घरभेटी आए। त्यो कुकुर अझै मलाई खाउँला झँै गरेर हेर्दै थियो। त्यो खान्दानी घरमा बसेर, उसले मलाई भुस्याहा पो सम्झ्यो कि?

'पढ्ने विद्यार्थी पैसा कति आउँदो हो र घरबाट?' बुढाको कुरै महंगो सुरुवात लाग्यो।

'होइन, हामी काम पनि गर्छाँै, पत्रकार हौँ।'

'ओहो, पत्रकार हुनुहुन्छ, ल राम्रो भो।'

बुढाले भने 'पानी, बिजुली, फोहोरको आफै तिर्नुपर्छ, महिना निभेको साँझ, धेरैमा भोलिपल्ट त पैसा चाहिन्छ।'

'कति, भन्नुभाछ त?'

'ठिक्क एउटा परिवारलाई हुने खालको छ, १६ हजार, एउटै कोठा खाली छ कोठा पनि।' थोरैले एक महिनाको तलव पुगेन।

'एक महिनाको भाडा पहिल्यै दिनुपर्छ, छोड्दा तीन महिनाअघि थाहा दिनु?'

'परिवार त हैन, हामी साथीहरु बस्ने हो।'

'हुन्छ, भैगो नि, हल्ला गर्न पाइन्न, साँझ ७ बजे घरभित्र छिरिसक्नुपर्छ।'

'ठीकै छ, गेटको चावी हामी राख्छौँ, नि पत्रकारको समय हुन्न, कैले राती जानुपर्छ, कैले राती आउनुपर्छ।'

'यस्तो रात बिरात गर्नेलाई त हुन्न' भित्रबाट घरभेटी बजैले कडा दिइन्।

गेट खोल्दै गर्दा, त्यो कुकुर फेरि झम्टिेला झै  गर्यो।

'आइजा, जान दे' बुढाले कुकुरलाई बोलायो।

घर साउनी भित्रबाट कराउँदै थिइन्,'गेट खोलेपछि लगाइदिएर जानु नि।'

No comments: