एमाओवादीको ठूलो समूह विप्लवको पार्टीमा प्रवेश गर्दै
ननस्टप संवाददाता । काठमाडौं, ३ पुस
जनयुद्धका बाँकी कार्यभारहरु पूरा गर्न मूल नेतृत्वले साहस नगरेको भन्दै नयाँ पार्टी गठन गरेर अगाडि बढेका युवा नेता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी सबैभन्दा ठूलो माओवादी पार्टी हुने देखिएको छ । अहिले देशभर सबै माओवादी पार्टीबाट विद्रोह गरेर विप्लव नेतृत्वको माओवादी पार्टीमा आउनेहरुको क्रम बढ्दै गएको छ ।
पुरानो पार्टीसँग सम्बन्ध विच्छेद गरेर नयाँ पार्टीको पहिलो बैठक चितवनमा गएका बेला एमाओवादीबाट विद्रोह गरी एमाओवादीको चितवनका जिल्ला नेता प्रकाश खनालसहितको टोली नयाँ माओवादीमा प्रवेश गरेको थियो । त्यसपछि यो क्रम अहिले देशभर चलिरहेको छ । यसैक्रममा लमजुङ जिल्लामा पनि एमाओवादीमा रहेका एक पुराना नेता पनि नयाँ माओवादी पार्टीमा आएका छन् ।
जनयुद्धकालमै २०६१ सालमा लमजुङ जिल्लाको सेक्रेटरी रहेका देवेन्द्र पौडेल ‘प्रताप’ एमाओवादीबाट नयाँ माओवादी पार्टीमा प्रवेश गरेपछि अहिले जिल्लामा सबैभन्दा ठूलो माओवादी पार्टी बनेको छ । लमजुङमा ड्यास माओवादी पार्टीका प्रायः सबै नेता कार्यकर्ताहरु नेकपा माओवादीमा रहेका छन । त्यसमा देवेन्द्र पौडेल समेत आएपछि अहिले यो पार्टी बलियो बनेको छ । केही दिन अघि नेकपा माओवादीको जिल्ला समितिको बैठक बसेर नयाँ टिम पनि गठन गरिएको छ । नयाँ पार्टीको इन्चार्ज अहिले उनै देवेन्द्र पौडेल ‘प्रताप’ भएका छन् । त्यसैगरी सेक्रेटरीमा लमजुङका युवा नेता अविरल न्यौपाने चयन भएका छन् । प्रताप र अविरल दुबै जना जिल्लामा पुराना स्थापित नेता समेत हुन् । अहिले लमजुङमा नेकपा माओवादीको २३ सदस्यीय जिल्ला समिति गठन भएको छ ।
त्यसैगरी लमजुङमा एमाओवादीको विद्यार्थी संगठनका केन्द्रीय सदस्य रहेका होमबहादुर विश्वकर्मा पनि अहिले नेकपा माओवादीमा प्रवेश गरेका छन् । अरु माओवादीबाट आन्दोलनको अविभारा पूरा हुन नसक्ने भन्दै उनी अहिले नेकपा माओवादीमा प्रवेश गरेको बताउँछन् । उनको प्रवेशसँगै जिल्लामा विद्यार्थी संगठन पनि बलियो बनेको छ ।
त्यसैगरी बाँके, बर्दिया, कैलाली कञ्चनपुर र दाङ जिल्लामा पनि नेकपा माओवादी बलियो बनेको उक्त पार्टीका इन्चार्ज भरत वमले जानकारी दिएका छन् । उनले पाँच वटै जिल्लाको हालै बैठक सम्पन्न गरेको जानकारी दिँदै अरु पार्टीमा रहेका इमानदार र क्रान्तिकारी नेता कार्यकर्ताहरु आफ्नो सम्पर्कमा आएको र उनीहरु छिट्टै पार्टीमा जोडिने जानकारी दिएका छन् ।
विप्लवको नेतृत्वमा बनेको नेकपा माओवादीमा अहिले पुरानो पार्टीबाट प्रायः जिल्लाका नेता कार्यकर्ताहरु सबै लागेका छन् । बलप्रयोगको राजनीतिक समाप्त भएको घोषणा गर्ने पुरानो पार्टीका बुढा नेताहरुबाट पार्टी रहन नसक्ने भन्दै अहिले थुप्रै जिल्लाहरुमा कार्यकर्ताहरु सबै नयाँ पार्टीमा जुटेका छन् । यसैक्रममा पूर्वको लिम्वुवान, किराँत र कोचिला प्रदेशमा पनि नयाँ पार्टीको पक्षमा ठूलो कार्यकर्ता लागेका छन् । पार्टी अलग भए लगत्तै बाँकी रहेका कार्यकर्ता सम्हाल्न पूर्व पुगेका सिपी गजुरेल र हितमान शाक्य निरास भएर राजधानी फर्केका छन् । पार्टी विभाजनपछि बैद्यको पक्षमा देखा परेका पूर्वका मौसम लिम्वु पनि अहिले निकै दोधारमा रहेका छन् । अहिलेसम्म विप्लवको नजिक रहेको भनेर प्रचार गरिएका मौसम लिम्बुले हिजो आज कार्यकर्ताहरु समक्ष आफूले गल्ती गरेको बताउन थालेका छन् । जिल्लाहरुमा उनको त्यति प्रभाव नरहे पनि युवा भएका कारण उनलाई पूर्वमा माओवादी पार्टीले स्थापित गराउन खोजेको थियो । तर, उनी पछिल्लो चरणमा विचारको अडानमा नरहेपछि एकातिर कार्यकर्ताले पत्याउन छाडेका छन् भने अर्कोतिर उनी आफै गल्ती गरेको महशुस गर्दैछन् ।
पूर्वका झापा, इलाम, धनकुटा, पाँचथरमा गएर बाँकी रहेका कार्यकर्ताहरुको बैठक राखेका सिपी गजुरेल, हितमान शाक्य र मौसम लिम्बुको टोलीलाई जिल्लाका कार्यकर्ताले पनि र्याखर्याख्ती पारेका थिए । सबै जिल्लाका बैठकमा मौसम लिम्बु र सिपी गजुरेलकै बीचमा भनाभन हुने गरेको थियो । मौसम लिम्बु बुढाहरुले नसकेको भन्दै भाषण गर्न थालेपछि लगत्तै सीपी गजुरेल उनको खण्डन गर्नतिरै समय खर्च गर्दथे ।
यसैक्रममा गजुरेलको टिमलाई ताप्लेजुङ पार्टीले प्रवेश गर्न नै रोक लगाएको थियो । जिल्लामा आएमा नराम्रो हुने भन्दे जिल्ला सेक्रेटरी सुमनसहितको टोलीले जिल्लामा नआउन गजुरेलको टिमलाई फोेनबाट जिल्ला नआउन भनेपछि फिदिमबाटै उनीहरु निरास भएर फर्केका थिए । निर्वाचन बहिस्कार आन्दोलन बेलादेखि नै ताप्लेजुङमा माओवादीका अधिकांश कार्यकर्ताहरु अहिले पनि अर्ध भूमिगत अवस्थामा रहेको बताइएको छ ।
यता पर्वत जिल्लाका सबै नेता कार्यकर्ता नयाँ पार्टीमा लागेका छन्् । पर्वतमा अहिले बैद्य समूह समाप्तप्राय बनेको छ । पर्वतमा २९ सदस्यीय जिल्ला समितिमा २१ जना नयाँ पार्टीमा लागेका छन्् भने ६ जना कतै नलाग्ने भन्दै निस्क्रीय बसेका छन् । यसअघि जिल्ला संयोजक रहेका गगनबहादुर थापा प्रदिप, बैकुण्ठ गिरी, ओमबहादुर पनलगायतको सबै टोली नयाँ पार्टीमा जुटेका हुन् । संयोजक प्रदिपले क्रान्ति सम्पन्न गर्ने अभियानमा सबै साथीहरु सहभागी हुने बताउँछन् ।
त्यसैगरी रोल्पाको जिल्ला पार्टी सबै नेकपा माओवादीमा समाहित भएको छ । रोल्पा जिल्ला समितिको बैठक बसेर नयाँ पार्टीको पक्षमा उभिने निर्णय गरिएको हो । त्यसैगरी भेरी कर्णाली, सेती महाकाली, मगराँत राज्य अन्तर्गतका सबै जिल्लामा नयाँ पार्टीमा ठूलो बहुमत देखा परेको छ ।
त्यसवाहेक अहिले अरु माओवादीबाट पनि नयाँ पार्टीमा प्रवेश गर्ने तयारी भइरहेको बताइएको छ । यसको असर जिल्लादेखि केन्द्रसम्मै धु्रविकरण हुने सम्भावना बढेको नेकपा माओवादीका एक नेताले बताए । स्रोतका अनुसार पछिल्लो समय एमाओवादीका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले समेत विप्लवलाई समर्थन जनाउने बताइएको छ । प्रभाकरले विप्लवलाई भेटेरै अगाडि बढ्न सल्लाह दिँदै एउटा प्रक्रियामा आफू जोडिने बताएको स्रोतले जनायो ।
copy: NonStopKhabar.com
No comments:
Post a Comment