भदौ ११, गोरखा
गोरखा ताकुकोटका सुरेश बराम भदौ १० गते मंगलवार काठमाण्डौं जाँदै हुनुहुन्थ्यो । आफूलाई एयरपोर्टमा लिन आउँछु भनेर घरबाट निस्केकी श्रीमति बिमा बेपत्ता भएपछि विक्षिप्त बन्नुभएका बराम उनको खोजीकै क्रममा हुनुहुन्थ्यो । श्रीमति हराएको सूचना टेलिभिजन मार्फत प्रसार गरे खोजीका लागि सजिलो हुने ठानेर उहाँ काठमाण्डौं हिँड्नुभएको थियो । धादिङको नौविसे पुग्नै लाग्दा उहाँलाई हराइरहेकी श्रीमतिको मोबाइल नम्वरबाट फोन आयो । मोबाइलमा श्रीमति बिमानै बोल्नुभयो र आफूलाई लिन भरतपुर बोलाउनुभयो ।
सुरेश झटपट बसबाट ओर्लेर भरतपुरतिर हान्निनुभयो, हराइरहेकी भनिएकी बिमा श्रीमान्लाई लिन वसपार्कसम्मै आउनुभयो । “होटलमा पुगेपछि सप्पै कुरा भन्दिएँ” श्रीमान्सँगै च्वाइस एफएममा आइपुगेकी बिमा भन्छिन्, “त्यो केटाको लहै लहैमा लागेर मैले झण्डै घरबार बिगारेको ।” श्रीमानलाई एयरपोर्टमा लिन जान्छु भनेर भदौ ५ गते गोरखा ताकुकोटस्थित घरबाट निस्केकी बिमा त्यही दिन भरतपुर पुग्नुभयो । स्थानीय होटलमा कोठा लिनुभयो, मोबाइल फोन अफ गरेर बस्नुभयो । ६ गते बेलुका मलेसियाबाट काठमाण्डौं ओर्लदैं गरेका श्रीमान्को सम्झना आयो, घरमा छोडेर हिँडेका २ छोराको मायाले मन भक्कानियो । “कस्तो परिवन्दमा परिएछ जस्तो लाग्यो” बिमा भन्छिन्,“ एक मन त फर्किऊँ जस्तो पनि लागेको थियो, फेरि जे सुकै होस् भनेर बसें ।” बिमालाई यसरी परिवन्दमा पार्ने चाहिँ पूर्वतिरका एक युवक रहेछन् जोसँग उनको ४ वर्षअघि मलेसियामा चिनजान भएको रहेछ । सुरेशले बिमालाई पनि सँगै मलेसिया लिएर गएका थिए, त्यहाँ उनीहरु एउटा फर्निचर पसलमा सँगै काम गर्थे । “त्यो पनि त्यही कम्पनीमा काम गथ्र्यो” बिमा सम्झिन्छिन्,“ खै कसरी हो, ऊ र म नजिक भयौं ।” उनीहरुको सम्बन्धबारे चाल पाएका सुरेशले २ वर्षपछि श्रीमतिलाई नेपाल लिएर आए र उनलाई गाउँमा छोडेर एक्लै फर्किए । त्यसयता पनि उनीहरुविच टेलिफोनमा निरन्तर कुरा हुन थालेछ । “ मसँग बिहे गर् नत्र तेरो लोग्नेलाई यहीँ मार्दिन्छु भन्थ्यो” बिमा भन्छिन्, “बूढो नेपाल फर्किनु अघिनै भागेर कतै बस्दै गर् म आए पनि बिहे गर्ने भन्थ्यो ।” सुरेशको घर फर्किने दिन नजिकिन थालेपछि उसले मलेसियाबाटै फोनमा धम्की दिएको बिमाको दावी छ । पछिल्लो समय फेसबुक मार्फत पनि उनीहरुविच कुराकानी हुने गरेको रहेछ । “फेसबुकका सप्पै म्यासेज सबैलाई देखाइदिन्छु भन्यो” बिमाले भनिन्,“ कम्युटरबाट मिलाएर नाँगै फोटो फेसबुकमा राख्दिन्छु भन्यो, त्यस्तो बेइज्जत हुनुभन्दा त त्यहीसँग जान्छु भनेर घरबाट हिँडें ।” ५ दिन भरतपुरको एउटा होटलमा बिताएपछि बिमालाई फेसबुकमा भएका अरु साथीहरुले उनीबारे आउका समाचारबारे बताए । समाचार हेरेपछि उनलाई श्रीमान्को असाध्यै माया लागेर आएछ । त्यसपछि मात्रै श्रीमानलाई फोन गर्ने जाँगर चलेको उनले बताइन् । सुरेश भन्छन्, “अब त्यसलाई कहिल्यै फोन गर्दिन भनेपछि फिर्ता लिएर आएँ ।” उनीहरु आजै ताकुकोटस्थित घर फर्किएका छन् । होटलमा बस्दा मासिएको बाहेकका अरु पैसा बिमाले फिर्ता ल्याएकी छिन् । नेपाल उत्रेको एक हप्तासम्मको तनावपछि घर फर्किन लागेका सुरेशले जाँदाजाँदै भने, “सर, विदेशमा भएका अरु साथीभाईलाई यस्तो नपरोस् है ।”
Copy choice fm

No comments:
Post a Comment